काठमाडौं महानगरका मतदाताको रोजाईमा मेयर र उप-मेयरमा युवा बालेन्द्र र सुनिता

काठमाडौं/ यस पटकको स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाका मतदाताको रोजाईमा सो महानगरपालिकाको मेयर र उप-मेयरमा युवा अनुहार परे । जसका कारण स्वतन्त्र उम्मेद्वार बालेन्द्र साह मजबुत संगठन भएका नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंह र नेकपा (एमाले)का नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितलाई भारी मततान्तरले पराजित गरी काठमाडौं महानगरपालिकाको मेयरमा विजयी हुनुभयो । अब नवनिर्वाचित मेयर साहका अगाडि आफूले निर्वाचनका समयमा गरेका प्रतिबद्धता पूरा गर्ने जिम्मेवारी आएको छ ।

यसैगरी सम्पदा संरक्षण र प्रवर्द्धनको क्षेत्रमा काम गर्दै आएकी नेकपा (एमाले)की उम्मेद्वार सुनिता डंगोल प्रतिस्पर्धी ५ दलीय गठबन्धनका तर्फबाट नेकपा (एस)का उम्मेद्वार रामेश्वर श्रेष्ठलाई धेरै ठूलो मतान्तरका साथ पराजित गरी विजयी हुनुभयो । अब काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर साह र उप-मेयर डंगोलका अगाडि काठमाडौं महानगरपालिकालाई यसैमा सिमित राख्ने या यसको अनुहार चम्काउने भन्ने प्रश्न खडा भएको छ । उहाँहरु कसरी अगाडि बढ्नुहुन्छ , त्यो आगामी दिनमा देखिने छ ।

काठमाडौंका पालिकाहरुमा एमालेलाई धक्का

काठमाडौं महानगरपालिका तथा गोकर्णेश्वर , कागेश्वरी मनोहरा , शंखरापुर , दक्षिणकाली , कीर्तिपुर र तारकेश्वर नगरपालिकामा यस अगाडि नेतृत्व गरेको नेकपा (एमाले) यस पटक त्यहाँबाट बिस्थापित भएको छ । शंखरापुर नगरपालिकाको मेयर राप्रपाले जित्यो भने दक्षिणकाली , कीर्तिपुर र तारकेश्वर नगरपालिकाको मेयर र उप-मेयरका साथै चन्द्रागिरि , नागार्जुन , गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका मेयर तथा टोखा र शंखरापुर नगरपालिकाको उप-मेयर नेपाली कांग्रेसले जितेको छ । यस अगाडि काठमाडौंको नागार्जुन र चन्द्रागिरि नगरपालिकाको मेयर बाहेक काठमाडौंका सबै स्थानीय तहमा एकछत्र बर्चस्व कायम गरेको नेकपा (एमाले)ले यस पटक बुढानिलकण्ठ नगरपालिकाको मेयर र उप-मेयर तथा टोखा नगरपालिकाको मेयरका साथै कागेश्वरी मनोहरा , गोकर्णेश्वर , नागार्जुन र चन्द्रागिरि नगरपालिका र काठमाडौं महानगरपालिकाको उप-मेयरमा चित्त बुझाउन बाध्य भयो ।

यस अगाडिका चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी तथा र नागाजुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत र उप-मेयर सुशिला अधिकारी यस पटक पुन: दोहोरिनु भएको छ ।

यता यस पटकको निर्वाचनमा टोखा नगरपालिकाको मेयर र उप-मेयर पदमा पुरुष उम्मेद्वार विजयी हुनुभयो भने काठमाडौंका बाँकी १० पालिकामा महिला उम्मेद्वार उप-मेयरमा सिमित हुनुभएको छ ।

(कान्तिपुर दैनिकको सहयोगमा)

Leave a Reply