क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमनले कालो सूचीमा राखेको प्रति बढ्यो असन्तुष्टि

नाबालिका बलात्कारको अभियोग लागेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालो सूचीमा राखेसँगै त्यसप्रति असन्तुष्टि बढ्दै गएको छ । देशको लागि खेलिरहेको एउटा खेलाडी माथि यस्तो हर्कत गरिनु राम्रो नभएको मानिसहरुको भनाई छ । एउटा खेलाडी माथि अभियोग लागेपछि उसमाथि अनुसन्धान हुनु र अदालतबाट दोषी प्रमाणित भएमा कारवाही हुनु स्वभाविक भएपनि क्रिकेटर सन्दीप लामिछाने माथि लागेको नावालिका बलात्कार सम्बन्धी अभियोगको बारेमा राम्रो सँग अनुसन्धान नहुदै प्रहरी प्रशासन लगायतले मिडियाबाजी गरेर उनलाई अपराधी करार गर्न खोजेको भन्दै त्यसको सामाजिक सञ्जाल लगायतमा व्यापक विरोध भइरहेको छ । यो विषयको अनुसन्धान गोप्य तवरबाट भएर अनुसन्धानबाट क्रिकेटर लामिछाने यदी दोषी प्रमाणित भएमा मात्रै प्रहरीले यो विषय सार्वजनिक गर्नु पर्नेमा त्यसो नगरी आफ्नो कर्मले अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीको छवि बनाएका लामिछानेको मानमर्दन गरेको भन्दै त्यसको समाजका विभिन्न क्षेत्रका मानिसहरुले विरोध गरिरहेका छन् । उनीहरुले यस विषयको निष्पक्ष ढंगबाट राम्रो सँग अनुसन्धान हुनु पर्ने बताइरहेका छन् ।

अध्यागमनले आइतबार क्रिकेटर लामिछानेलाई कालो सूचीमा राखेको जनाएको थियो । योसँगै स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गर्न सक्ने छ र त्यसका लागि त्रिभुवन विमानस्धलमा प्रहरी परिचालन गरेको श्रोतको भनाई छ ।

क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिताका खेल खेल्न विदेश रहेका लामिछानेले भने आफू माथिको सो अभियोग अस्वीकार गर्दै स्वदेश फर्किएर कानुनको पालना गरी त्यस विरुद्ध कानुनी लडाई लड्ने आफ्नो भनाई सामाजिक सञ्जालमा यस अगाडि व्यक्त गरेका छन् । उनी माथिको यो अभियोगलाई धेरैले उनलाई फसाउन गरिएको षडयन्त्र भनेका छन् । यता प्रहरीले भने यसको अनुसन्धान कार्य भइरहेको जनाएको छ । यसमा उनको दोष रहेको छ कि छैन भन्ने विषय अदालतको अन्तिम फैसला भएपछि मात्रै थाहा हुने छ ।

Leave a Reply