क्रिकेटर सन्दीप लामिछानेलाई असोज २७ गतेसम्म हिरासतमा राख्न अदालतको आदेश

नावालिका बलात्कारको आरोपमा यही असोज २० गतेदेखि महानगरीय प्रहरी वृत्त , गौसालामा हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई यही असोज २७ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमती प्रदान गरेको छ । आज विहान नेपाल प्रहरीले लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि १० दिनको समय हिरासतमा राख्न अनुमती मागेको थियो तर काठमाडौं जिल्ला अदालतले लामिछानेलाई यही असोज २० गतेदेखि लागू हुने गरी असोज २७ गतेसम्मका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती प्रदान गर्दै यही असोज २७ गते काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउन आदेश दिएको बताइएको छ । आज भएको बयानमा क्रिकेटर लामिछानेले आफू माथि लागेको आरोप निराधार भएकोले आफू निर्दोष भएको बताउनुभएको थियो । उहाँलाई जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंमा बयानका लागि लगिएको थियो ।

लामिछानेलाई हत्कडी लगाएकोप्रति नागरिकहरु असन्तुष्ट

गत भदौ ५ गते आफू माथि नावालिका बलात्कारको आरोप लगाई महानगरीय प्रहरी वृत्त , गौसालामा गत भदौ २१ गते निवेदन दर्ता भएपछि त्यस बिरुद्ध कानुनी लडाई लड्ने र त्यसका लागि प्रहरीलाई सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत आफ्नो भनाई सार्वजनिक गरी यही असोज २० गते बिहीबार कतार एयरवेजको जहाजबाट स्वदेश फर्किएका क्रिकेटर लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएर हतकडी लगाएको प्रति नागरिकहरुले असन्तुष्टि जनाइरहेका छन् । त्यस बेला लामिछानेले आफूलाई हत्कडी नलगाउन प्रहरी समक्ष अनुरोध गरेको जनाइएको छ तर उहाँको सो अनुरोधलाई बेवास्ता गरी सन्दीपलाई हत्कडी लगाई कपडाले छोपिएको थियो ।

Leave a Reply