सरकारी पक्ष र बञ्चरे डाँडा सरोकार समितिका प्रतिनिधि बीच आज बार्ता

काठमाडौं/ आफूहरु माथि उत्पीडन भएको भन्दै आन्दोलन गरेर बञ्चरेडाँडा ल्याण्डफिल्ड साइडमा फोहोर फाल्न अवरोध गरिरहेका बञ्चरेडाँडा सरोकार समितिलाई सरकारले बार्ताका लागि बोलाएपछि आज सरकारी पक्ष र आन्दोलनरत बञ्चरेडाँडा सरोकार समितिका प्रतिनिधि बीच बार्ता हुने भएको छ तर शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको सार्वजनिक अभिव्यक्ति सुन्दा यो बार्ता सार्थक होला भनेर विश्वस्त सक्ने आधार नदेखिएको कतिपय जानकारहरुको भनाई छ । सरोकारवालाहरु भने यो वार्तालाई सार्थक र परिणाममुखी बनाउन दुबै पक्ष जिम्मेवार बन्नु पर्ने बताउछन् ‌।

बञ्चरेडाँडाबासीले राज्यले आफ्नो माग बेवास्ता गरेको भन्दै निरन्तर सडक अवरोध गरेपछि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएको फोहोर लामो समयदेखि उठ्न सकेको छैन । सरकारले बाक्लो सुरक्षाकर्मी तैनाथ गरेर बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फाल्न प्रयत्न गरेपनि स्थानीयबासीको अवरोध पछि फोहोर फाल्न बञ्चरेडाँडा गएका फोहोर बोकेका गाडी फिर्ता भएका थिए । अवरोध गर्ने स्थानीयबासी माथि सुरक्षाकर्मीले बल प्रयोग गरेपछि स्थिति थप तनावग्रस्त बनेको हो । उक्त बल प्रयोगको विरोध भइरहेको छ । सांसद नारायणप्रसाद खतिवडाले प्रतिनिधि सभाको बैठकमा उक्त बल प्रयोगको विरोध गर्नु भएको थियो ।

बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइडको आवश्यक पूर्वाधार व्यवस्थित गर्नु पर्ने , आफूहरुलाई अर्कै ठाउँमा स्थानान्तरण गर्नु पर्ने , बञ्चरेडाँडाबासीलाई रोजगारी र नि:शुल्क स्वास्थ्य उपचारको ग्यारेण्टी गर्नु पर्ने लगायतका माग आन्दोलनरत स्थानीयबासीले अगाडि सारेका छन् ।

Leave a Reply