प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सहकारी यस्तो मजबुत खम्बा हो, जसले समाजको हितमा काम गर्न सक्छ भन्नुभएको छ । १०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवस, २९औ संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस र राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै सभामुख घिमिरेले सहकारीले समाजलाई अगाडि बढाउन भूमिका खेलेकोले एक थरी यसको विरुद्धमा लागिरहेको बताउनुभयो । दवावमुलक कार्यबाट सहकारीमा देखिएका समस्या समाधान हुन सक्ने उहाँको भनाइ थियो ।
कार्यक्रमको अध्यक्षता गरेका राष्ट्रिय सहकारी महासंघ लि., नेपालका अध्यक्ष मिनराज कँडेलले सहकारी कर्जा सूचना केन्द्र , कर्जा असुली न्यायधिकरण र बचत तथा कर्जा सुरक्षा कोष सञ्चालन हुनु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारी ऐन नियमको कार्यान्वयन र सहकारी मैत्री अन्तर्सम्बन्धित ऐन नियम संशोधन हुनु पर्ने खाँचो औँल्याउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले सहकारीले बचत र ऋणको काम मात्रै नभइ सामाजिक कल्याणकारी कार्य गर्नु पर्नेमा जोड दिनुभयो ।
यसैगरी सहकारी विभागका रजिष्टार नमराज घिमिरेले नीति, विधि र प्रविधिमा आधारित रहेर चलेका सहकारी संघ/संस्थामा समस्या आएको नभइ सहकारीको बोर्ड राखेर गलत कार्य गर्ने केही मान्छे मात्रै समस्यामा परेको बताउनुभयो ।
उहाँले सहकारीका सदस्यको १ रुपैया पनि फिर्ता गराएर छाड्ने बताउदै सहकारीमा घुसेर गलत कार्य गर्नेले कडा सजाय पाउने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले तेश्रो को-अपरेटिभ कंग्रेसले पास गरेको नीति अनुरुप राष्ट्रिय सहकारी महासंघ लि.नेपालले एक्सन प्लान बनाएर अगाडि बढने प्रतिकद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सभामुख घिमिरे र राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका अध्यक्ष कँडेलले सहकारी अभियानको प्रवर्द्धनमा उत्कृष्ट कार्य गरेका सहकारी अभियन्ता, सहकारी संघ/संस्था र पत्रकारलाई पुरस्कार प्रदान गरि सम्मान गर्नु भएको थियो ।





