सहकारी जनशक्तिको रोजगार सुरक्षित हुनुपर्ने

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत विकास उप-समितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक साझेदारीमा मानव श्रोत साधन व्यपस्थापन तालिम २०८२ अषाढ ७ र ८ गते रोयल थाई हस्पिटालीटी, राधेराधे, भक्तपुरमा सम्पन्न भयो । उक्त अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष

कृष्ण गोविन्द लाखाजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको नियामकीय मापदण्डले सहकारी अभियानलाई कमजोर तथा सकुचनमा ल्याएको बताउनुभयो । उहाँले ‘सहकारी अभियानमा परिचालित जनशक्तिको रोजगार सुरक्षित हुनुपर्नेमा मापदण्डले विचलनमा ल्याएको छ’, भन्नुभयो । मानिस मेसिन नभएकोले मानव श्रोतलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण कार्य भएकोले श्रमिक र संस्था दुवैको बृद्धि विकासले मात्र सहकारी संस्था दिगो रहने उहाँको भनाइ थियो । उहाँले संस्थाको मानव श्रोतको अवस्था बुझ्न सञ्चालकहरुले हरेक वर्ष कार्य मुल्याकंन र विशलेषण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा सोही संघका सचिव एंव शिक्षा तथा संस्थागत विकास उप-समितिका संयोजक जगनाथ प्रजापतिले सहकारी संस्थामा प्रभावकारी मानव श्रोत साधन व्यवस्थापनबाट मात्र संस्थाको लक्ष्य हासिल गर्न सकिने भएकोले मानव श्रोत संसाधन व्यवस्थापन तालिम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सिकेका ज्ञान सीप कार्यरत संस्थामा सहकर्मीहरुलाई हस्तान्तर गरी नयाँ व्यवहार र संस्कृति विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
यसैगरी सो संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी सस्थाका कर्मचारीहरुले सहकारी संस्थामा सञ्चालनका समस्यालाई देखाउने काम गर्ने होइन सम्बन्धित ऐन नियमको परिधिमा रही समस्याको समाधानका उपायहरु संस्थालाई दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सहकारी संस्थामा कार्यरत कर्मचारीहरुले श्रम ऐन, नियमावली र बोनश ऐन अनुसार कर्मचारीको नीति∕कार्यविधि बनाई कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यस्तैगरी प्रशिक्षक डा. कृष्णकान्त मिश्रले सहकारीको विकास गर्न प्रभावकारी मानव श्रोत साधनको व्यवस्थापन विना सफल नहुने विचार व्यक्त गर्नुभयो । सहकारी संस्थाले राज्यको नीति नियम अनुसार आन्तरिक मानव स्रोत ससांधान नीति तथा कार्यविधि हुनुपर्छ र यदि बाझिएमा बाझिएको हदसम्म उक्त कार्यविधि स्वत निश्कृय हुने उहाँले बताउनुभयो । उहाँले सहकारी संस्थाका कर्मचारीहरुलाई मौद्रिक तथा अमौद्रिक सेवा दिएर उत्प्रेरित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयोे ।
तालिममा सहभागीहरुले मानव स्रोत साधनको भर्नादेखि अवकाससम्मको व्यवस्थापनका असल अभ्यास, कार्यविधि र प्रविधिको बारेमा अन्तरक्रियात्मक शैलीबाट प्रभावकारी सिकाई भएकोमा खुशी व्यक्त गर्नुभयो । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा लेखा सम्बन्धीत कर्मचारीहरु १५ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको सञ्चालन संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो । तालिममा सहचागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *