सीएनआई पदाधिकारीको पूर्व प्रधानमन्त्री देउवा, परराट्र मन्त्री राणा र मुख्यसचिव अर्यालसँग छलफल

नेपाल उद्योग परिसंघ र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । २०८२ श्रावण ७ गते बुधबार नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री देउवाले निर्वाचित कार्यसमितिलाई बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना दिनुभयो । सो अवसरमा उहाँले खुला बजार अर्थतन्त्रको पक्षपोषक कांग्रेसले निजी क्षेत्रको विकासकालागि जोड दिदै आएको बताउनुभयो ।
सो अवसरमा नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्य लिएको बताउनुभयो । यो लक्ष्य हासिल गर्न ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको र वृहद अध्ययन शुरु गरेको उहाँले जानकारी गराउनुभयो । उहाँले परिसंघले यो उपलब्धी हासिल गर्न कुन क्षेत्रमा कति लगानी आवश्यक रहेको र कानुनी एवं नीतिगत सुधार कस्तो हुनुपर्ने स्पष्ट रुपमा सुझाव तयार पार्ने बताउनुभयो ।
उक्त छलफलमा परिसंघका उपाध्यक्षहरु राजबहादुर शाह र हेमराज ढकाल, महानिर्देशक डा.घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।

सीएनआई पदाधिकारीको परराष्ट्र मन्त्री राणा र मुख्यसचिव अर्यालसँग छुट्टाछुट्टै छलफल

यसैगरी २०८२ श्रावण ७ गते बुधबार नै नेपाल उद्योग परिसंघले परराष्ट्र मन्त्री आरजु राणा देउवा र मुख्य सचिव एक नारायण अर्यालसँग पनि छुट्टा छुट्टै छलफल गरेको छ ।

परराष्ट्र मन्त्री राणासँगको छलफलमा नेपाल उद्ोग परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले स्वदेशी लगानीले मात्रै देशले लिएको लक्ष्य हासिल गर्न सम्भव नभएको हुँदा वैदेशिक लगानी आकर्षित गर्ने कानुनी, नीतिगत एवं सहज व्यवसायिक वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले देशगत रुपमा विशिष्ट आर्थिक रणनीति बनाउन र विदेशी बजारमा नेपाली वस्तुहरुको प्रवर्द्धन गर्न नेपाली दूतावास तथा नियोगहरुलाई प्रभावकारी रुपमा परिचालन गर्नपर्नेमा जोड दिनुभयो । उहाँले परिसंघले आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर पु-याउने र दोहोेरो अंकको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य राखेको र यसका लागि सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा परराष्ट्र मन्त्री राणाले स्वदेशीसँगै विदेशी लगानी बढाउन सरकारले कानुनी एवं नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताउनुभयो । सरकारले केही कानुनहरुमा संशोधन गरिसकेको उदाहरण दिनुहुँदै उहाँले अन्य कानुनहरुको संशोधन गर्न लागेको समेत जानकारी गराउनुभयो । उहाँले निजी क्षेत्रलाई प्रवर्द्धन नगरेसम्म आर्थिक विकास सम्भव नहुने हुँदा निजी क्षेत्रका समस्या समाधानमा सरकार गम्भिर रहेको बताउनुभयो ।
यस्तैगरी मुख्यसचिव अर्यालले नवनिर्वाचित परिसंघको टिमलाई बधाई दिनुहुँदै उद्योग र निजी क्षेत्र बिना अर्थतन्त्र अगाडि बढ्न सक्दैन भन्नेमा स्पष्ट रहेको बताउनुभयो । निजी क्षेत्रको लगानी अभिबृद्धि गर्न सरकारले कानुनी एवं नीतिगत सुधारलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । आर्थिक क्षेत्र, औद्योगिक विकास एवं वनसँग सम्बन्धित लगायत अन्य करिब १२० वटा कानुन सरकारले संशोधनको तयारी गरिरहेको बताउनुभयो । समग्र अर्थतन्त्रको विकासका लागि क्षेत्रगत रुपमा सुझाव दिन समेत उहाँले आग्रह गर्नुभयो । मुख्यसचिव अर्यालले स्वदेशी उत्पादनको प्रयोग बढाउन सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका ल्याएको बताउनुभयो । साथै उहाँले सार्वजनिक खरिद ऐन संशोधन गरी अनिवार्य स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने व्यवस्था गर्न लागेएको समेत जानकारी गराउनुभयो ।
सो छलफलमा परिसंघका उपाध्यक्षहरु राजबहादुर शाह र हेमराज ढकाल, पदाधिकारी सदस्य सन्दीप शारडा र विदूषी राणा, महानिर्देशक डा.घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *