हरिकृष्ण कार्की सर्वोच्च अदालतको का.मु. प्रधानन्यायधीश

कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की ६५ वर्षे उमेर हदका कारण आईतबारबाट सेवा निबृत्त भएसँगै सर्वोच्च अदालतका बरिष्ठतम न्यायधीश हरिकृष्ण कार्की आजबाट कायममुकायम प्रधानन्यायधीश बन्नु भएको छ । निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले आउदो मंसिर २७ गते ६५ वर्षे उमेर हदका कारण सेवा निबृत्त भएपछि कार्की प्रधानन्यायधीश बन्ने जानकारहरु बताउछन् ।

प्रगतिशील प्यानलको तर्फबाट नेपाल बार एसोसिएसनको अध्यक्ष बनेका कार्की नेपाल बार एसोसिएसनको अध्यक्ष पदबाट बीचैमा राजीनामा दिएर नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेको समयमा महान्यायधिवक्ता बन्नुभएको थियो । त्यही बीचमा कार्की सर्वोच्च अदालतको न्यायधीशमा नियुक्त हुनुभएको थियो ।

प्रधानन्यायधीश जबरा माथि गत फागून १ गते संघीय संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायधीश जबरा निलम्बनमा परेपछि दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायधीशको जिम्मेवारीमा रहेर कार्य गर्दै आउनुभयो ।यही असोज १५ गतेबाट उमेर हदका कारण अवकास हुने भएपनि आजबाट कोजाग्रत पूर्णिमासम्म अदालत बिदा हुने भएकोले कायममुकायम प्रधानन्यायधीश कार्कीले आइतबारबाट अवकास लिनु भएको बताइएको छ । सर्वोच्च अदालतमा बिदाई कार्यक्रमको आयोजना गरी उहाँलाई बिदाई गरिएको सर्वोच्च अदालत श्रोतले जनाएको छ ।

असोज १ गते प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिएपछि महाअभियोग प्रस्ताबको औचित्य सकिएको भन्दै निलम्वित प्रधानन्यायधीश जबरा यही असोज २ गते सर्वोच्च अदालत फर्किन खोजेपछि सरकारले सुरक्षाकर्मी खटाएर उहाँलाई निवासबाट बाहिर निस्किन रोक लगाएको थियो भने नेपाल बार एसोसिएसनको अगुवाईमा कानुन व्यवसायीहरु उहाँलाई सर्वोच्च अदालत फर्किन नदिन सर्वोच्च अदालतको गेटमा जम्मा भएर बसेका थिए ।

७ महिनासम्म कायमुकायम प्रधानन्यायधीश बनेका दीपककुमार कार्कीले सर्वोच्च अदालतको नेतृत्व गरेको समयमा सर्वोच्च अदालतले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जानकारहरु बताउछन् ।

आजबाट कायममुकायम प्रधानन्यायधीश बनेका हरिकृष्ण कार्की पनि दोषमुक्त नभएको भनी निलम्वित प्रधानन्यायधीश जबराले महाअभियोग सिफारिस समिति समक्ष बयान दिने क्रममा बताएपछि कार्की पनि बिबादमा तानिनुभएको छ । कायममुकायम प्रधानन्यायधीश कार्कीले आफू माथि लागेको आरोपको सफाई कसरी प्रमाणित गर्नु हुने हो त्यो भने हेर्न बाँकी छ ।

Leave a Reply