हरेक दिनको प्रगति प्रतिवेदन मन्त्रालयमा पठाउन एनएसी (NAC)लाई मन्त्री किरातीको निर्देशन

संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई हरेक दिनको आफ्नो प्रगति प्रतिवेदन मन्त्रालयमा पठाउन निर्देशन दिनुभएको छ । नेपाल वायुसेवा निगमका जहाजको टिकट विक्रीमा हुने गरेको अनियमितता बारे चर्चा गर्दै उहाँले ‘नेपाल वायुसेवा निगमका जहाजको टिकट नपाएर तेश्रो पटक फेरि रुने अवस्था नबनोस्’, भन्नुभयो । उहाँले नेपाल वायुसेवा निगमका जहाज कहिले कति पटक के कारणले ग्राउण्डेड भए , कति पटक के कारणले जहाज बिग्रिए , कति पटक कहाँ कुन जहाजको चक्का हरायो लगायतका विषयको प्रतिवेदन प्रस्तुत गर्न र नेपाल वायुसेवा निगमको अवस्था सुधार गर्ने बारेको प्रतिवेदन प्रस्तुत गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

निजी क्षेत्रका वायुसेवा कम्पनीका जहाजले नाफा आर्जन गरेर प्रगति गरेपनि नेपाल वायुसेवा निगम भने अधोगतिमा गइरहेको छ ‌‌। सो निगम भित्रको आर्थिक अनियमितता , भ्रष्टाचार , राजनीतिक हस्तक्षेप र अपसंस्कृतिले नेपाल वायुसेवा निगम आर्थिक रुपमा थला परेको छ तरपनि त्यहाँका कर्मचारीहरुका लागि व्यवस्था गरिएको सेवा सुबिधा अरु निजी वायुसेवा कम्पनीहरुको तुलनामा निकै राम्रो सरोकारवालाहरु बताउछन् । राम्रो तलव र सेवा सुबिधा पाएपनि व्यवस्थापन र कर्मचारीहरूले नेपाल वायुसेवा निगमलाई सुधार गर्ने गरी सिन्कोसम्म पनि नभाचेको जानकारहरू बताउछन् । २०४८ सालयतादेखि २०७४ सालसम्म बनेका एकाध बाहेक सबैजसो पर्यटन तथा नागरिक उड्डयन मन्त्री नेपाल वायुसेवा निगमका जहाज सम्बन्धी आर्थिक अनियमितताका घटनामा जोडिएर विवादित बन्दै आएका छन् । पछिल्लो पटक २०७८ सालमा संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उक्त निगमलाई सुधार गर्ने केही प्रयास गरेपनि मन्त्री आले रहेको दल नेकपा (एस)ले बीचैमा उहाँलाई मन्त्रीबाट फिर्ता बोलाएपछि उहाँको प्रयास सार्थक हुन नपाएको धेरैको बुझाई छ । अहिलेका संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री किरातीले नेपाल वायुसेवा निगमको अवस्था सुधार र नेपाली वायुसेवा भित्रको बेथिति हटाएर यसको साख उचो बनाउने गरी कार्य गर्नु हुन्छ या हुन्न , त्यो भने आउदा दिनमा देखिने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *