माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १३औं स्थापना दिवसमा विशेष कार्यक्रम सम्पन्न

हाम्रो सहकारी, हाम्रो लगानी, हाम्रो क्रियाशीलता, हाम्रो भविष्य भन्ने मूल नाराका साथ १३ वर्ष अघि ललितपुरमा स्थापना भएको माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १३औं स्थापना दिवस लिटिल फलावर्स पब्लिक स्कूलको प्राङ्गणमा शनिबनर विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ । सो संस्थाका अध्यक्ष समेत रहनु भएका अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लि.का लगनखेल शाखाकी प्रमुख रमा घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सोही संस्थाकी अवैतनिक दुत तथा मिस नेवाः ,२०७९ सलिना महर्जन सहित करिब ६०० भन्दा बढी शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि घिमिरेले कुशल नेतृत्व, उत्कृष्ट व्यवस्थापन एवं पारदर्शी आर्थिक कारोवारका कारण नै संसारभर वित्तीय क्षेत्रमा हाल सृजना भइरहेको विषम परिस्थितिका बाबजुद पनि यस माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि. २०७९ मा जिल्ला कै उत्कृष्ट कारोवार गर्ने सहकारीको रुपमा सम्मानित हुन सफल भएकोमा समग्र सहकारी परिवारलाई बधाई दिदै यसको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो ।


यसैगरी सो कार्यक्रमको अध्यक्षता गर्दै त्पसै संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले १३ बर्ष अघि रोपेको सानो वीऊ झाँगिएर अहिले रुख हुने क्रममा रहेको र यही रुख रुपी हाम्रो यस माँ बंगलामुखी उपभोक्ता सहकारी सश्स्था लि.ले आर्थिक खडेरीको यो मौसममा समेत आफ्ना शेयर सदस्यहरुलाई छहारीको रुपमा राहत दिन सक्ने भएको बताउदै यसलाई सहकार्य र विश्वासको मलजलले हुर्काउन सहयोग गर्नु हुने सम्पूर्ण कर्मचारी, शेयर सदस्य, सरोकारवाला निकायहरु एवं शुभेच्छुकहरुको अटुट विश्वासलाई कहिल्यै मर्न नदिनुका साथै भविष्यमा अझै आधुनिक गुणस्तरीय तथा विश्वसनीय सेवा सुविधा उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले आगामी दिनहरुमा समेत सहकारी सञ्चालनका सन्दर्भमा सवै सरोकारवाला पक्षहरुबाट संस्थाकाे स्तराेन्नतिका लागि सबै किसिमको साथ सहयोग तथा मार्गदर्शनको अपेक्षा रहेको विचार व्यक्त गर्नुभयाे । कार्यक्रमको अध्यक्षता गरेका अधिवक्ता महर्जनले प्रमुख अतिथि घिमिरेलाई मायाको चिनो प्रदान गर्नुभयो ।

कार्यक्रममा केक काटेर खुशीयाीका साथ एक अर्कामा शुभकामना आदान प्रदान गरिएको थियो ।

पछिल्लो पटक प्रकाशित २०७९ चैत्र महिनासम्म यो संस्थाको आर्थिक प्रतिवेदन अनुसार कूल शेयर पूँजी रु.३,५१,२०,२०० रहेको यस संस्थाको कूल सम्पति रु.३९,८८,४१,०५६ , कूल कर्जा लगानी रु.३०,२२,२९,१७९ र कूल निक्षेप रु.२२,९६,९०,७१४ र जगेडा तथा अन्य कोष गरी जम्मा रु.२,७६,११,६३०.९५ पुगेको यस संस्थाको तरलता वित्तीय क्षेत्रमा देखिएको चरम मन्दीका बीच पनि कूल निक्षेपको २०.१८ प्रतिशत रहेको छ । ललितपुर महानगरपालिका-११, कोन्तीमा आफ्नै भवन रहेको यो संस्थाले फुटसल , जिमखाना सञ्चालन गर्नुका साथै मार्ट सञ्चालन गर्ने य‍ोजना रहेको त्यसै संस्थाका अध्यक्ष अधिवक्ता महर्जनको भनाइ छ । यो संस्थाले त:ननी बचत तथा ऋण सहकारी संस्था लि.सँग सहकार्य गरी ललितपुरको शंखमुलमा लिटिल फलावर्स पब्लिक स्कुल रााम्रो सँग सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *