अरुणिमा साकोसको कार्यालय भवन उद्घाटन सहित १३औं वार्षिक साधारण सभा सम्पन्न

अरुणिमा बचत तथा ऋण सहकारी संस्था लि.को आफ्नै कार्यालय भवन उद्घाटन सहित १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाली कांग्रेसका नवनिर्वाचित सांसद एवं पूर्व मन्त्री अर्जुन नरसिंह के.सी.ले ललितपुर महानगरपालिका-१४, ताल्छिखेलमा सो संस्थाको नवनिर्मित साढे ५ तले कार्यालय भवनको २०७९ पुस २ गते शनिबार उद्घाटन गर्नुभयो । यससँगै सोही भवनबाट औपचारिक रुपमा उक्त संस्थाको कार्यालय सञ्चालन शुरु भएको छ ।

उक्त भवनको उद्घाटन भए लगत्तै सोही संस्थाका अध्यक्ष रामशरण घिमिरेको अध्यक्षता तथा नवनिर्वाचित सांसद एवं पूर्व मन्त्री अर्जुन नरसिंह के.सी.को प्रमुख आतिथ्यतामा सो संस्थाको १३औं वार्षिक साधारण सभा शुरु भएको थियो । संस्थाको नवनिर्मित कार्यालय भवन छेउमा भएको साधारण सभाको प्रमुख अतिथि के.सी.ले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले स्थापना भएको छोटो समयमा नै राम्रो प्रगति गरी अगाडि बढेको अरुणिमा साकोसको सबै सूचकाङ्क राम्रो रहेको पाउदा आफूलाई खुशी लागेको बताउदै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो । उहाँले सहकारी संस्थाहरुले उत्पादन बृद्धि र रोजगारी सृजनामा सहयोग पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने खाँचो औंल्याउनुभयो । नवनिर्वाचित सांसद एवं पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर जबरा , बागमती प्रदेश सभाका सदस्यहरु रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र उर्मिला के.सी. राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती , नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का व्यवस्थापक सन्तोष बजगाईँ र राष्ट्रिय सहकारी बैक लि., लगनखेल शाखा प्रमुख रमा घिमिरेको आतिथ्यति रहेको त्यस साधारण सभा सोही संस्थाका अध्यक्ष रामशरण घिमिरेले संस्थाको सञ्चालक समितिको तर्फबाट प्रगति प्रतिवेदन , आगामी कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गर्दै सहकारी पद्धति मार्फत संस्थामा आवद्ध सदस्यहरुको व्यवसायद्वारा उद्यमशीलताको विकास गरी आर्थिक जीवनस्तर माथि उठाउने अभिप्रायबाट संस्थाको कार्यक्षेत्र भित्र छरिएर रहेको स-सानो पूँजीलाई केन्द्रिकृत गरी सकेसम्म दोहोरो सदस्यता नहुने गरी विभिन्न क्षेत्रमा भएका कला र सीपको सही किसिमबाट सदुपयोग गरी एऊटा असल समाज निर्माणार्थ यस अरुणिमा बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना भएको प्रसङ्ग उल्लेख गर्दै सहकारी व्यवसाय मार्फत आयात प्रतिस्थापन गर्न र स्वदेशमै रोजगारी सृजना गर्न कृषि पेशालाई सम्मानित पेशाको रुपमा ग्रहण गर्ने किसिमको वातावरण सृजना गर्ने यस संस्थाको संकल्प रहेको र यसै अनुरुप संस्थामा आवद्ध सदस्यहरुलाई कृषि पेशा अन्तर्गत पशुपालन र उत्पादनमा जोड्नको लागि बिभिन्न संघ/ संस्थाहरुसँग समन्वय गरी सदस्यहरुलाई सरल र सहज तरिकाबाट आर्थिक तथा प्राविधिक सहयोग गर्दै आइरहेको बताउनुभयो ।

सोही संस्थाकी सचिव सुभद्रा तिमल्सिनाले सञ्चालन गर्नुभएको त्यस साधारण सभामा संस्थाका कोषाध्यक्ष महानन्द तिमल्सिनाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक राजु बजगाईँले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ती प्रतिवेदनहरु शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट पारित गरियो । साधारण सभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा उक्त संस्थामा शेयर सदस्य १,०२३ जना , शेयर पूँजी रु.२,२९,३५,००० , बचत संकलन रु.३२,१९,४३,४५५ , ऋण लगानी रु.४८,६३,७५,४०६.०५ र कोषमा रु.२,७५,९०,५७०.६४ रहेको उल्लेख छ ।

साधारण सभामा ललितपुर क्षेत्र नं.१ बाट निर्वाचित सांसद उदय शमशेर जबरा तथा बागमती प्रदेश सभा सदस्यमा ललितपुर क्षेत्र नं.१(ख)बाट निर्वाचित मिनकृष्ण श्रेष्ठ, ललितपुर क्षेत्र नं.२(ख)बाट निर्वाचित रामकृष्ण चित्रकार र समानुपातिक तर्फबाट निर्वाचित उर्मिला के.सी.लाई सम्मान गरियो । त्यस्तैगरी साधारण सभामा सो संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गर्नुका साथै त्यसै संस्थाका शेयर शेयर सदस्यहरुका छोरीछोरीहरु मध्ये उत्कृष्ट जीपीएका साथ प्लस टु उत्तीर्ण भएका नानीबाबुहरुलाई पुरस्कार प्रदान गरी सम्मानित गरियो ।

Leave a Reply