उपयोगी साकोसको १७औं वार्षिक साधारण सभा सम्पन्न, संस्थाको मुनाफा रु.१,२५,००,००० पु-याउने लक्ष्य

ललितपुरको इमाडोलमा आफ्नै भवनबाट सञ्चालन भइरहेको उपयोगी बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सो साधारण सभाको राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईँले उद्घाटन गर्नुभयो ।

सोही अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले स्थानीय समुदायमा आधारित यस उपयोगी साकोसका सबै सूचाकाङ्क राम्रो रहेकोले यसका शेयर सदस्यहरुले आफ्ना सबै वित्तीय कारोवार यसै संस्थामा गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारीका विरुद्ध विभिन्न खाले हल्ला चलेपनि त्यस्ता हल्लाको पछि नलागी सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई राम्रो सँग सेवा प्रवाह गर्नुपर्छ र राम्रो सँग सञ्चालन भएका सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंक र ललितपुर जिल्ला हहकारी संघको साथ र सहयोग रहने बताउनुभयो । यस्तै साधारण सभामा महालक्ष्मी नगरपालिका वडा नं.७ का वडाध्यक्ष बाबुराजा महर्जन , शिक्षा तथा समाजसेवी श्यामकृष्ण महर्जन , राष्ट्रिय सहकारी बैंक लि.,इमाडोल शाखाकी प्रमुख अनुजा सैंजु , मुक्तिनाथ विकास बैंक लि., इमाडोल शाखाका प्रमुख राजु अवाले लगायतले त्यस संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।

उक्त साधारण सभाको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष रामकृष्ण बस्नेतले सो संस्थाको गतिविधि र कार्य प्रगति बारे प्रकाश पार्दै यस संस्थाका शेयर सदस्य ज्यूहरुको साथ र सहयोग , सञ्चालक समितिको सक्रियता र कर्मचारीहरुको मेहनतले प्रतिकुल अवस्थामा पनि हाम्रो यो संस्था प्रगतिपधमा अगाडि बढ्न सकेको भन्दै प्रशन्नता व्यक्त गर्दै सबैमा कृतज्ञता व्यक्त गर्नुभयो ‌

उक्त संस्थाका प्रबन्धक विकास महर्जनले संस्थाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम , कोषाध्यक्ष बशन्ती महर्जनले आर्थिक प्रतिवेदन तथा कार्य योजना र लेखा सुपरीवेक्षण समिति संयोजक विजय बस्नेतले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । ती प्रतिवेदनहरु छलफल गरी शेयर सदस्यहरुले साधारण सभाबाट पारित गरे । साधारण सभाबाट पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा शेयर सदस्य संख्या २,६११ जना , शेयर पूँजी रु.३,५१,१३,५००, निक्षेप संकलन रु.२९,३०,४१,९८३.१६ , कर्जा लगानी रु.२९,४३,६५,५३१ , आम्दाधी रु.५,०४,७३,३९४.३० , खर्च रु.३,८६,६०,२०१.२४ र मुनाफा रु.१,१८,१३,१९३.०६ रहेकोमा चालु आर्थिक वर्ष २०७९/०८० मा शेयर सदस्य २,६६१ , शेयर पूँजी रु.३,८४,१३,५०० , निक्षेप संकलन रु.३३,३०,४१,९८३.१६ , कर्जा लगानी रु.३३,४९,६५,४३१, आम्दानी रु.५,३४,९९,३९४, खर्च रु.४,०९,९९,३९४ र मुनाफा रु.१,२५,००,०००० पु-याउने लक्ष्य रहेको उल्लेख छ भने ती प्रतिवेदनहरुमा चालु आर्थिक वर्ष सञ्चालन हुने योजना र कार्यक्रमहरु समावेश छन् ।

सो संस्थाका उपाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले सञ्चालन र ऋण प्रबन्धक बाशुदेव के.सी.ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको साधारण सभामा सोही संस्थाका जेष्ठ सदस्यद्वय काञ्छा भारती र विष्णु सुवेदीलाई दोसल्ला ओडाएर सम्मान गरियो । त्यसैगरी त्यसै संस्थाका शेयर सदस्यहरु मध्ये उत्कृष्ट नियमित बचतकर्ता सदस्य सानुभाइ सिलवाल , उत्कृष्ट ऐच्छिक बचतकर्ता सदस्य शर्मिला श्रेष्ठ , उत्कृष्ट दैनिक बचतकर्ता सदस्य कमला सुवेदी , उत्कृष्ट वाल बचतकर्ता अमिना खातुन र उत्कृष्ट आवधिक बचतकर्ता सदस्य सुशिला लामिछानेलाई र असल कारोवार गरेका सदस्य ज्यानबहादुर श्रेष्ठलाई पुरस्कृत गरी सम्मान गरियो ‌।

त्यस्तैगरी एम्बूलेन्स सेवा सञ्चालनका लागि चाङ्गाथली क्लवलाई रु.५०,००० प्रदान गरियो ।

त्यसै सभामा प्रमुख अतिथि बजगाईँलाई साधारण सभाका अध्यक्ष बस्नेतद्वारा मायाको चिनो प्रदान गरियो ।

Leave a Reply