कुम्भेश्वर महिला साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका-११, कुम्भेश्वरमा रहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा शनिबार ज्वागल बैङ्क्वेट , ललितपुरमा सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष बिञ्जु खड्गीको अध्यक्षता तथा कोषाध्यक्ष शान्त लक्ष्मी खड्गीको सञ्चालनमा सम्पन्न सो साधारण सभाको ललितपुर महानगरपालिकाकी उप-प्रमुख मञ्जली शाक्यले उद्घाटन गर्नुभयो । उक्त अवसरमा उप-प्रमुख शाक्यले

शुभकामना मन्तव्य व्यक्त गर्दै ठुला बैंकमा आर्थिक क्राइसिस आइरहेको बेला कुम्भेश्वर महिला साकोसका शेयर सदस्यहरुको एकता, सक्रियता र यसले नाफा आर्जन गरेको देख्ता खुशी लागेको बताउदै अर्को वर्षसम्मा यस संस्थाको शेयर सदस्य, शेयर पूँजी र कारोवार दुगुना बृद्धि हुन सकोस भनी कामना गर्नुभयो । उहाँले यो साधारण सभामा सहभागी यस संस्थाको शेयर सदस्यहरुको अनुशासन , एकता र सक्रियता देख्ता सहकारीको अवलोकन भ्रमणमा जाँदा भारतको अमोल जस्ता सहकारीले गरेको कार्यको आफूलाई झझल्को आएको प्रसङ्ग उल्लेख गर्दै यस संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आफ्ना शेयर सदस्यहरुको सीपलाई उत्पादनमा रुपान्तरण गर्न सकोस् भनी कामना गर्दै तपाईहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणका लागि ललितपुर महानगरपालिकाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला सहकारी संघ लि.,ललितपुरका अध्यक्ष केदार गोरखालीले

कुम्भेश्वर महिला साकोसले गरेको प्रगति र यसका सबै सूचकाङ्क राम्रो रहेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले बढी व्याज दिन्छु भनेर लोभ देखाएर कतिपय सहकारी संस्थाले शेयर सदस्यहरुलाई ठगेका घटनाको चर्चा गर्दै शेयर सदस्यहरुले बढी व्याजको लोभमा नपरी समुदायमा आधारित राम्रोसँग सञ्चालन भएका सहकारी संस्थामा कारोवार गर्न आग्रह गर्नुभयो । उहाँले ‘ललितपुर जिल्लाका सहकारी संघ/संस्थाहरुको अभिभावक जिल्ला सहकारी संघ लि.,ललितपुरले सहकारीको विकास र प्रवर्द्धनमूलक कार्य गरिरहेको छ’, भन्नुभयो । साधारण सभामा सोही संस्थाका सल्लाहकार तथा नेपाल उपभोक्ता केन्द्रीय सहकारी संघ लि.का लेखा सुपरीवेक्षण हमितिका संयोजक अधिवक्ता लक्ष्मण महर्जनले समुदायमा आधारित कुम्भेश्वर महिला साकोसले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको सेवा , यसले सामाजिक तथा आर्थिक क्षेत्रमा पु-याएको योगदान र यसले गरिरहेको प्रगति सन्तोषजनक रहेको बताउनुभयो । त्यसैगरी उक्त साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले कुम्भेश्वर महिला साकोसको प्रगति देख्ता खुसी लागेको बताउदै यसको थप प्रगतिको कामना गर्नुभयो । उहाँले समाजवादमा जाने आधारको रुपमा रहेको सहकारीको विकास र प्रवर्द्धको खाँचो औंल्याउदै सहकारीको पैसा सहकारी मै जम्मा हुनु पर्नेमा जोड दिनुभयो । त्यस्तैगरी साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै यल अन्तर सहकारी समन्वय समितिका अध्यक्ष प्रनव श्रेष्ठले कुम्भेश्वर महिला साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेका सामाजिक कार्यहरु प्रशंसनीय रहेको बताउनुभयो । यस्तैगरी राष्ट्रिय सहकारी बैंक लि., लगनखेल शाखाकी प्रमुख रमा घिमिरेले

घर भित्र चुल्होचौकामा सिमित रहेर दिदीबहिनीहरु घरबाट निस्केर यसरी सहकारीमा आवद्ध रही उत्पादनमूलक कार्यमा लागेको देख्ता खुसी लागेको बताउदै अरु दिदीबहिनीहरुलाई पनि घरबाट बाहिर निकालेर उत्पादनमूलक कार्यमा लाग्न सक्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाकी अध्यक्ष बिञ्जु खड्गीले ‘छरिएर रहेको स-सानो रकमलाई संकलन गरी त्यस मार्फत आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउने उद्देश्यले २०६७ सालमा विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको हाम्रो यस कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि.मा हाल आवद्ध ७८० जना शेयर सदस्यहरुलाई नियमित बचत गर्ने बानी बसाली आवश्यकता अनुसार उत्पादनशील कार्यमा लगानी गर्ने , सीप विकास तालिम सञ्चालन गर्ने , अनौपचारिक शिक्षा जस्ता तालिम कार्यक्रममा सहभागी गराउनुका साथै लघुवित्त एवं युवा स्वरोजगार ऋण परिचालन गरी शेयर सदस्यहरुलाई आर्थिक रुपमा सवल बनाउने जस्ता कार्य यस संस्थाले गर्दै आइरहेको छ’, भन्नुभयो । उहाँले २५ जना संस्थापक रहेको हाम्रो यस संस्थामा आर्थिक वर्ष २०७८/०७९ मा शेयर सदस्य ७८० , शेयर पूँजी रु.१,०८,०६,४९०, निक्षेप संकलन रु.१४,२१,४७,९१०, ऋण लगानी रु.१९,१८,८७,९८९ रहेकोमा चालु आर्थिक वर्ष २०७९/०८० मा शेयर सदस्य १,००० , शेयर पूँजी रु.१,६९,०१,००० , निक्षेप संकलन रु.१५,००,००,००० र ऋण लगानी रु.२०,००,००,००० पु-याउने लक्ष्य रहेको बताउनुभयो ।

साधारण सभामा त्यसै संस्थाकी सचिव सफलता खड्गीले संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष शान्त लक्ष्मी खड्गीले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक गायत्री शाहीले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । साधारण सभाले ती प्रतिवेदनहरु पारित गरेको थियो ।

त्यसै संस्थाकी सञ्चालक समिति सदस्य जरिना खड्गीले स्वागत मन्तव्य व्यक्त गरेको र प्रबन्ध सञ्चालक विश्वरत्न खड्गीले संयोजनकारी भूमिका निर्वाह गरेको त्यस साधारण सभामा प्रमुख अतिथि ललितपुर महानगरपालिकाकी उप-प्रमुख शाक्यलाई संस्थाकी अध्यक्ष खड्गीले मायाको चिनो प्रदान गर्नुभयो । यल अन्तर सहकारी समन्वय समितिमा आवद्ध सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको त्यस सभामा सोही संस्थाका उत्कृष्ट बचतकर्ता सदस्य शर्मिला शाही तथा उत्कृष्ट ऋणी सदस्यद्वय शर्मिला खड्गी र सुनिता राजथलालाई पुरस्कृत गरी सम्मानित गरिएको थियो ।

त्यस संस्थाले आफ्ना शेयर सदस्यहरु बीच बचत तथा ऋण कारोवारसँगै IME Remit , Western Union Money Transfer र Himal Remit सेवा सञ्चालन गरिरहेको छ ।

Leave a Reply