प्रभात ई.सेकेण्डरी स्कूल महाकालीस्थान व्यासी भक्तपुरका कक्षा १० का विद्यार्थीहरु सामाजिक विषय शिक्षक बलराम गोसाईको नेतृत्वमा सामाजिक विषय अन्तरगत सहकारीको विषयमा अध्ययन अवलोकन गर्न आज ख्वप बचत तथा ऋण सहकारी संस्था लि.मा जानुभयो । त्यस अवसरमा ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले प्रभात ई. सेकेण्डरी स्कूलका शिक्षक र विद्यार्थीहरुलाई स्वागत गर्नृभयो । उहाँले ‘ख्वप साकोस समुदायमा आधारित संस्था भएको र यसको नेतृत्वमा पनि स्थानीय दाजुभाइदिदीबहिनीहरु नै रहेकाले यस सहकारीमा खासै समस्या छैन’, भन्नुभयो । ख्वप साकोसले आर्थिक क्रियाकलापकको अलावा स्थानीय जनता र शेयर सदस्यहरुको आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक स्तर उकास्न विभिन्न कार्यक्रम सम्पन्न गरेको उहाँले बताउनुभयो । उहाँले यो संस्थामा तरलता २९ प्रतिशत रहेको छ, शेयर सदस्यहरुले आफूलाई आवश्यक पर्दा बचत फिर्ता र ऋण जुनसुकै समयमा लिन सक्ने जानकारी दिदै विद्यार्थीहरुका जिज्ञासाको जवाफ अन्तरक्रियामार्फत प्रष्ट पार्नुभयो । यसैगरी उक्त संस्थाका सचिव अमर बासुकलाले संस्थाको ऋण परिचालन प्रक्रिया र विभिन्न प्रकारका बचत र ऋणमा संस्थाले निर्धारण गरेका प्रतिस्पर्धात्मक ब्याजदरबारे जानकारी दिनुभयो । यस्तै उक्त संस्थाका कोषाध्यक्ष लक्ष्मीनारायण सुवालले सो संस्थाको आर्थिक अवस्थाबारे जानकारी दिंदै यश संस्थामा शेयर पूँजी रु.१ करोड ५४ लाख र कुल कारोबार रु.२१ करोड ५० लाख पुगेको बताउनुभयो । कार्यक्रम उक्त अवसरमा ख्वप बचत तथा ऋण सहकारी संस्था लि. का ब्यवस्थापक रत्ना ब्याञ्जु र ऋण वितरण प्रमुख रोजिना दुवालले पनि संस्थाका गतिविधि र नियमित रुपमा अनुदानको रासायनिक मल वितरण भइरहेकाबारे प्रष्ट पार्नुभयो । कार्यक्रम सोही अवसरमा प्रभात ई. सेकेण्डरी स्कुलका शिक्षक बलराम गोसाईले बजारीया तथा ब्यवसायिक सहकारी र समुदाय आधारित सहकारी संस्थाको भेदबारे विद्यार्थीहरुलाई जानकारी गराउँदै सामाजिक विषय अन्तरगत सहकारीका विषयबारे थप प्रशिक्षित गर्न विद्यार्थीहरुलाई समुदाय आधारित सहकारी संस्थाहरु ख्वप साकोस र भिन्तुना साकोसको अध्ययन भ्रमण र अन्तरक्रियामा सहभागी गराएको जानकारी दिनुभयो । अध्ययन भ्रमण टोलीमा शिक्षक राजकुमार साखकर्मी र प्रभात ई. सेकेण्डरी स्कूल महाकालीस्थान ब्यासी भक्तपुरका कक्षा १० का १५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यसै अवसरमा विद्यार्थीहरुले संस्थाका गतिविधि ,उद्देश्य ,ऋण परिचालन र समुदाय आधारित सहकारी संस्थाको विषयमा प्रश्नहरु सोधी अन्तरक्रियामा सहभागी भएका थिए ।





