बागमती प्रदेश सहकारी संघ लि.को प्रथम वार्षिक साधारण सभा सम्पन्न

ललितपुर/ बागमती प्रदेश सहकारी संघ लि.को प्रथम वार्षिक साधारण सभा सोही संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा बिहीबार ललितपुरमा सम्पन्न भयो । सो साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि कँडेलले नेपालको सहकारी अभियानलाई मर्यादित र व्यवस्थित ढंगबाट अगाडि बढाउनु पर्नेमा जोड दिनु हुदै बागमती प्रदेशमा रहेका कतिपय सहकारी संस्थामा समस्या देखिएकोले त्यसलाई समाधान गर्दै यो प्रदेश भित्रका सहकारी अभियानलाई व्यवस्थित र मर्यादित बनाउने ढंगबाट बागमती प्रदेश सहकारी संघले भूमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले राज्यका नियमनकारी निकाय र सहकारी अभियानले संयुक्त रुपमा सहकारीको अनुगमन गर्नू पर्ने भनी धेरै पहिलेदेखि आफूहरुले पहल गरिरहेको र त्यसका लागि राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सहकारी अभियानले सहकारी विभागमा डेलिगेसन गएको भन्दै प्रदेश रजिष्ट्रार कार्यालयले सहकारी अभियानसँग मिलेर सहकारीको अनुगमन गर्ने योजना ल्याउनु सकारात्मक भएकोले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नु पर्ने खाँचो औंल्याउनुभयो । सोही अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.का पूर्व अध्यक्ष दीपकप्रसाद बाँस्कोटाले सहकारी संघहरुले आफ्ना सदस्य संस्थाहरुलाई आत्मनिर्भर स्वायत्त बनाउने दिशामा अग्रसर हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उक्त सभामा सोही महासंघका लेखा सुपरीवेक्षण समिति संयोजक धर्मदत्त देवकोटाले यतिबेला नेपालको सहकारी क्षेत्र सहभागिता , सक्रियता र पूँजीको हिसावले जनताको सञ्जाल बनेकोले यसलाई मर्यादित ढंगबाट अगाडि बढाउनु खाँचो औंल्याउनुभयो । उक्त साधारण सभाको अध्यक्षता गर्दै बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष घिमिरेले देशभरका कूल सहकारी संस्थाहरु मध्ये ३५ प्रतिशत जति सहकारी संस्थाहरु र देशभरका सहकारी संस्थाहरुको कूल कारोवार मध्ये ६० प्रतीशत जति कारोवार बागमती प्रदेश भित्र रहेकोले यो प्रदेश भित्रका सहकारी संघ/संस्थाहरुलाई मर्यादित र व्यबस्थित ढंगबाट अगाडि बढाउन राज्यका नियामक निकाय तथा केन्द्रीय सहकारी संघहरु बीच सहकार्य र समन्वय गर्दै बागमती प्रदेश सहकिरी संघ लि. अगाडि बढ्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । सोही संघका बरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले स्वागत मन्तव्य र सचिव देवराज न्यौपानेले सञ्चालन गर्नु भएको त्यस साधारण सभामा उक्त संघका महासचिव भीमप्रसाद दाहालले संघको वार्षिक प्रतिवेदन र कार्यक्रम ,कोषाध्यक्ष टीकाराम भट्टराईले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक नेत्रराज पौडेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रतिनिधिहरु बीच छलफल गरी ती प्रतिवेदनहरु साधारण सभाबाट पारित भएका थिए । साधारण सभाबाट पारित प्रतिवेदनमा चालु आर्थिक वर्ष २०७८/०७९ मा बागमती प्रदेश सहकारी संघ लि.ले थप ४ सय जति सहकारी संस्थाहरुलाई सदस्यता बनाउने , शिक्षा/ तालिम कार्यक्रम, साझेदारी कार्यक्रम तथा संघ/संस्थाहरुको समन्वय र प्रबर्द्धन कार्यक्रम सञ्चालन गर्ने लगायतका योजना उल्लेख गरिएको छ ।

Leave a Reply