भद्रावती साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सहयोगीनगरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । कोटेश्वर सहयोगीनगरस्थित श्रीकृष्ण पुञ्जमा सम्पन्न त्यस साधारण सभा सोही संस्थाका अध्यक्ष जयबहादुर खड्काको अध्यधतामा सम्पन्न भयो । काठमाडौं महानगरपालिका वडा नं.३२ का वडाध्यक्ष नवराज पराजुलीले उक्त साधारण सभाको उद्घाटन गर्नुभयो । सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै वडाध्यक्ष पराजुलीले सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको हितलाई ध्यानमा राखी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने बताउदै सहकारीको विकास र प्रवर्द्धनको लागि वडाले सहयोग गर्ने बताउनुभयो । उहाँले भद्रावती साकोसले स्थापना भएको छोटो समयमा गरेको प्रगतिको प्रशंसा गर्दै यसको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । यसगरी दोलखा जिल्ला समन्वय समितिका नि:बर्तमान प्रमुख डब्बल पाण्डेले भद्रावती साकोसका सबै सूचकाङ्क राम्रो देखिएको बताउदै सबै शेयर सदस्यहरुलाई यसमा नियमित कारोवार गर्न आग्रह गर्नुभयो । उहाँले आफ्ना यो संस्थाले शेयर सदस्यहरुमा प्रवाह गरिरहेको वित्तीय सेवा तथा रक्तदान , सरसफाई जस्ता सामाजिक कार्यको प्रशंसनीय रहेको बताउदै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । त्यसै संस्थाका सचिव केदारबहादुर कार्कीले सञ्चालन र कार्यकारी प्रमुख पदम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको यो साधारण सभामा शिवशक्ति बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कोषबहादुर खड्का , लापिलाङ्ग सामाजिक सेवा समितिका अध्यक्ष विवेककुमार श्रेष्ठ र नेपाली ओलम्पियन राजकुमारी पाण्डेले शुभकामना व्यक्त गर्दै उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।

साधारण सभामा सोही संस्थाका अध्यक्ष जयबहादुर खड्काले

उक्त संस्थाको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सबै साथ र सहयोगले सहकारीको सिद्धान्त , संविधान , ऐन र नियम भित्र रहेर सञ्चालन भइरहेको हाम्रो यस भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्य महानुभावहरुलाई सम्मानजनक सेवा प्रवाह गर्न सफल भएको बताउनुभयो । त्यसै अवसरमा सोही संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक गणेशबहादुर ठकुरी शाहीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरुले ती प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरियो ।

यो संस्थाले आफ्नो कार्यालय भवन निर्माणका लागि काठमाडौं महानगरपालिका-३२, जडिबुटीमा जग्गा खरीद गरी सकेको छ ।

Leave a Reply