मयुरवर्ण साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिकाकी उप-प्रमुख मञ्जली शाक्यले सहकारीको माध्यमबाट मूर्तिकला सहित हस्तकलाको विकास र प्रवर्द्धन राम्रोसँग गर्न सकिने विचार व्यक्त गर्नुभएको छ । शनिबार ललितपुरको भिञ्छेबहालमा रहेको मयुरवर्ण बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उप-प्रमुख शाक्यले समुदायमा आधारित मयुरवर्ण साकोसले मूर्तिकला सहित हस्तकलाको विकास र प्रवर्द्धनमा पु-याएको योगदान तथा यसले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरेको सेवाप्रति प्रशन्नता व्यक्त गर्नुभयो । आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संस्थाहरुको विकास र प्रवर्द्धनका लागि ललितपुर महानगरपालिकाको योजना र कार्यक्रमको बारेमा चर्चा गर्दै उहाँले सहकारी संस्थाहरुले लगानी गर्दा उत्पादनमूलक क्षेत्रलाई विशेष जोड दिनु पर्ने खाँचो औंल्याउनुभयो ।

लललितपुरको भिञ्छेबहालस्थित मयुरवर्ण महाविहार प्राङ्गडमा सम्पन्न त्यस साधारण सभामा ललितपुर महानगरपालिका वडा नं.७ का वडाध्यक्ष कुलबहादुर महर्जनले मयुरवर्ण साकोसको सामाजिक तथा आर्थिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै सहकारीको विकास र प्रवर्द्धनमा सधै आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । मयुरवर्ण बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष अष्टराज बज्राचार्यको अध्यक्षतामा सम्पन्न त्यस साधारण सभामा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीलाई मजबुत बनाउन सहकारीको पैसा सहकारी मै जम्मा गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले मयुरवर्ण साकोसको सबै सूचकाङ्क राम्रो रहेकोले शेयर सदस्यहरुले यस संस्थामा निर्धक्क साथ कारोवार गर्न आग्रह गर्नुभयो । त्यसैगरी साधारण सभामा नेफ्स्कूनका नि:बर्तमान सञ्चालक नानीकाजी शाक्यले समुदायमा आधारित सहकारी संस्थाको महत्व बारे प्रकाश पार्दै मयुरवर्ण साकोसले सामाजिक तथा आर्थिक क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयो । यस्तैगरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव श्यामकृष्ण महर्जनले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को गतिविधिको बारेमा प्रकाश पार्दै समुदायमा आधारित सहकारी संस्थाहरुमा तरलता र वित्तीय अवस्था राम्रो रहेको बताउनुभयो । साधारण सभामा अन्तर सहकारी सुरक्षण कोष र ज्वेल्स बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष किरणभाइ बज्राचार्य र मयुरवर्ण महाविहार सुधार समितिका अध्यक्ष सुरेन्द्र बज्राचार्यले मयुरवर्ण साकोसले गरिरहेको प्रगतिको प्रशंसा गर्दै सो संस्थाको थप प्रगतिको कामना गर्नभयो ।

सोही संस्थाका अध्यक्ष अष्टराज बज्राचार्यले सो संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्राचीन कालदेखि परम्परागत हस्तकला , मूर्तिकला र प्रस्तरकला कौसलमा सम्लग्न कलाकारहरुको बाहुल्यता रहेकौ हाम्रो समुदायमा आफ्नो सीप र उत्पादनबाट हुने आय नै मुख्य आयश्रोत मान्न सकिन्छ भन्नुभयो । उहाँले छरिएको आयलाई बचतमा परिणत गर्न शुरु भएको हाम्रो यस संस्था आज १२ वर्ष सफलतापूर्वक पार गरी १३औं वार्षिक साधारण सभा सम्पन्न गर्न गइरहेको सुखद उपलक्ष्यमा संस्थाका सम्पूर्ण शेयर सदस्यहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु भन्दै आउदै गरेको तिहार , छठ तथा नेपाल संवतको नव वर्ष ११४३ को पावन अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभयो । साधारण सभामा त्यसै संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक विकेश बज्राचार्यले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ती प्रतिवेदनहरु शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट पारित गरिएको थियो ।

उक्त संस्थाका उपाध्यक्ष देवेन्द्र शाक्यले धन्यबाद ज्ञापन , सचिव सुरेशरत्न बज्राचार्यले सञ्चालन , सञ्चालक समिति सदस्य पद्मा बज्राचार्यले स्वागत मन्तव्य र व्यवस्थापक दुर्गारत्न बज्राचार्यले संयोजनकारी भूमिका निर्वाह गर्नु भएको त्यस साधारण सभामा सोही संस्थाका शेयर सदस्य रितु शाक्य खुल्ला तर्फबाट नेपाल बैंक लि.को सह-प्रबन्धक पदमा छनौट हुनुभएकोमा उहाँलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।

साधारण सभामा अन्तर सहकारी सुरक्षण कोषमा आवद्ध सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियौ ।

Leave a Reply