माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थामा १५ दिने उद्घोषण तालिम सम्पन्न

ललितपुर महानगरपालिका-११, शंखमुल आवास क्षेत्रमा आफ्नै भवनबाट सञ्चालन भइरहेको माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको महिला उप-समितिको आयोजनामा १५ दिने उद्घोषण तालिम २०८१ पुस १२ गते सम्पन्न भयो । सोही संस्थाकी महिला उप- समिति संयोजक अञ्जु तण्डुकारको अध्यक्षतामा शुक्रबार सम्पन्न उक्त तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी केन्द्र नेपालकी अध्यक्ष एवं राष्ट्रिय सहकारी बैंक लि.की सञ्चालक पार्वती थापाले सहकारी अभियानले समावेशिता र सामाजिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै महिलाहरूलाई सहकारीको नेतृत्व तहमा पुर्‍याउन अझ बढी प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सहकारी केन्द्र नेपाल र राष्ट्रिय सहकारी बैंक लि.को तर्फबाट यस्ता कार्यक्रमहरूलाई निरन्तर सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल उपभोक्ता केन्द्रीय सहकारी संघ लि.का सुपरीवेक्षण समिति संयोजक तथा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.का अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले सहकारीको संस्थागत विकास र महिला सशक्तीकरणमा यस्ता तालिमहरूको भूमिका अपरिहार्य भएको धारणा व्यक्त गर्दै आगामी दिनमा अझ बढी महिला लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु्भयो । संस्थाका वरिष्ठ सल्लाहकार श्यामकृष्ण महर्जन , लेखा सुपरीवेक्षण समितिका संयोजक सुवर्ण शाक्य, व्यवस्थापक सुनिल महर्जन लगायतकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा तालिमका प्रशिक्षकहरु धन्यवाद सहित प्रशंसा-पत्र र सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरियो । त्यसै संस्थाका महिला उप-समिति सदस्य शान्ति महर्जन र कर्मचारी झरना रेग्मीले सञ्चालन गरेको कार्यक्रममा उक्त तालिमका सहभागीहरूले तालिमबाट प्राप्त अनुभव र सिकाईका विषयमा आ-आफ्नो धारणा व्यक्त गर्दै उद्घोषण सम्बन्धी नयाँ सीप सिक्न पाउँदा खुशी व्यक्त गरे । उनीहरुले यस्तो अवसरले आत्मविश्वास वृद्धि, नेतृत्व विकास हुनुकासाथै सहकारी क्षेत्रको सुदृढीकरणमा तालिमको भूमिका महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको सो तालिममा वरिष्ठ प्रशिक्षक रोजिन शाक्यले सहभागीहरूलाई उद्घोषण कला, सार्वजनिक वाक्चातुर्य, र प्रभावकारी प्रस्तुती शैलीका विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरेका थिए ।

त्यस अवसरमा यो तालिमले सहभागीहरूको व्यक्तिगत तथा सामूहिक क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास लिइएको छ भन्दै आयोजकले सहकारीद्वारा आयोजित यस्ता कार्यक्रमहरूले समाजमा महिला सशक्तीकरणको अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *