राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा २,४७७ वटा सहकारी दर्ता,दर्ता भए १८२ वटा उजुरी तथा गुनासो

सहकारी संस्था दर्ता गर्न आउन दोश्रो पटक थपिएको म्याद सकिन १० दिनमात्र बाँकी रहदा २,४७७ वटा सहकारी संस्था मात्र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा विधिवत रुपमा दर्ता भएका छन् । आज दिउसोसम्म कोशी प्रदेश भित्रका ३९६ वटा, मधेश प्रदेश भित्रका २३० वटा, बागमती प्रदेश भित्रका १,१९२,गण्डकी प्रदेशभित्रका १८५ वटा , लुम्विनी प्रदेश भित्रका ३५८ वटा ,कर्णाली प्रदेश भित्रका ३२ वटा र सुदूरपश्चिम प्रदेश भित्रका ८२ वटा सहकारी संस्था मात्र सो प्राधिकरणमा विधिवत दर्ता भएको सोही प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माको सचिवालयले जनाएको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले निर्धारण गरेको समयभित्र सहकारी संघ संस्थाहरु सो प्राधिकरणमा दर्ता हुन नआएपछि उसले सहकारी संघ संस्थालाई दर्ता हुन आउन अनुरोध गरी दुई पटक म्याद थप गरेको हो । यो थपिएको दोश्रो पटकको समयपनि यही फाल्गुण ११ गते सकिदैछ ।
“यो प्राधिकरणमा दर्ता प्रक्रिया झण्झटिलो छ र यसको सफ्टवेयरमा त्यहाँको सिष्टमले दर्ताको प्रक्रियाका लागि डकुमेण्ट लग इन गर्दा सजिलै एसेप्ट गरी दिदैन, त्यही भएर चाहेरपनि उल्लेख्य मात्रामा सहकारी संस्थाहरु दर्ता हुन नसकेको कतिपय सहकारी अभियन्ताको भनाइ छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ता सम्बन्धी आवश्यकता अनुरुप सहकारी संघ संस्थाहरुमा सहकारी दर्ता सम्बन्धी राम्रोसँग अभिमुखीकरण /तालिम सञ्चालन नगरेकाले पनि त्यहाँ धेरै सहकारी संघ संस्थाहरु चाहेर पनि दर्ता हुन नआएको जानकारहरु बताउछन् ।
“यो प्राधिकरणको क्षेत्राधिकार ठूलो छ तर यहाँ आवश्यकता अनुरुप कर्मचारीको दरबन्दी व्यवस्था गरिएको छैन र व्यवस्था भएको दरबन्दी अनुरप नेपाल राष्ट्र बैक लगायतबाट आउनु पर्ने कर्मचारी पनि नआएकाले काम गर्न गाह्रो परिरहेको छ”, उक्त प्राधिकरणका एक कर्मचारी बताउछन् ।
यता उक्त प्राधिकरणमा सहकारी सम्बन्धी १८२ वटा उजुरी तथा गुनासो दर्ता भएको सोही प्राधिकरणकी अधिकृत विनिता धितालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *