ललितपुर जिल्ला बचत संघको अध्यक्षमा बजगाईँ र महर्जन भिड्ने,वर्षिक साधारणसभा भदौ २७ गते

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि को नयाँ नेतृत्व चयन सहितको २८औं वार्षिक साधारण सभा यही भदौ २७ गते सोमबार ललितपुरको महालक्ष्मीस्थानस्थित त्रिशक्ति पार्टी प्यालेसमा हुने भएको छ ।

उक्त दिन विहान त्यस संघको २८औं वार्षिक साधारण सभाका कार्यक्रम सञ्चालन हुने र त्यसपछि सोही संघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पदाधिकारी र सदस्य चयनको औपचारिक प्रक्रिया शुरु हुने जनाइएको छ । यसबेलासम्म सो संघको अध्यक्ष पदमा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक समेत रहेका त्यसै संघका बर्तमान अध्यक्ष रामहरि बजगाईँ र सञ्चालक नरेन्द्र महर्जनले उम्मेद्वारी दिने बताउनुभएको छ तर सर्वसम्मत ढंगबाट सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्य चयनका लागि प्रयास पनि भइरहेको सरोकारवालाहरुले बताएका छन् । यही भदौ २५ गते शनिबार दिउसो सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्य पदको उम्मेद्वारी मनोनयन हुने निर्वाचन समितिले जनाएको छ ।

सो संघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पदाधिकारी र सदस्य पदमा यदी सर्वसम्मत नभएको अवस्थामा विद्युतीय भोटिङ मेसिनको प्रयोगबाट निर्वाचन कार्यक्रम सम्पन्न गर्ने योजना रहेको निर्वाचन समितिले जनाएको छ । हाल त्यस संघमा ४८१ वटा साकोस सदस्य रहेका जनाइएको छ ।

यही भदौ २४ गतेसम्म विधिवत दर्ता भएका प्रतिनिधिले मात्रै सो साधारण सभाको सबै कार्यक्रममा भाग लिन पाउने र त्यसका लागि सार्वजनिक बिदाको दिन भएपनि सो दिन पुरै समय ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को कार्यालय सञ्चालन हुने सोही संघका व्यवस्थापक सन्तोष बजगाईँले अलगपथलाई बताउनुभयो । गत असार मसान्तसम्म यो संघको कुल कारोवार रु.१ अर्ब ५९ करोड रहेको थियो ।

Leave a Reply