लोकेश्वर साकोसको पन्ध्रौं बार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा राजन जति पुन: चयन

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को पन्ध्रौं बार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा नि:बर्तमान सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो । उक्त संस्थाका बाल सदस्यहरुको सुमधुर बासुरी धुनसँगै प्रमुख अतिथि सुवालले पानसमा दीप प्रज्वलन गरी सो साधारण सभाको उद्घाटन गर्नुभयो ।

उक्त सभामा उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि सुवालले

अहिलेको सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्याहरुलाई औंल्याउदै राजनीतिक रुपमा उच्च पदमा रहेका र पहुँच भएका व्यक्तिहरु नै सहकारीमा सम्लग्न भई ऋणको दुरुपयोग गर्दै आएको बताउनुभयो । नेताहरुले सफा राजनीति नगरेसम्म जनताले सुख नपाउने बताउदै उहाँले अहिलेसम्म सिंहदरवारमा शासन गर्ने सबै शासकहरु भ्रष्ट हुँदा देशमा यो अवस्था आएकोले सचेत जनताले चुनाव मार्फत यिनीहरुलाई दण्डित गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । नेपालका ठुला दल भारत सरकारको इसारमा चल्ने गरेको तर्फ इड्गित गर्दै उहाँले कृषकहरुका लागि मल ल्याउन नसक्ने, देशका नदीनाला विदेशीलाई सुम्पने , नेपालका नदीमा जलविद्युत निकाल्न विदेशको स्वीकृति लिनुपर्ने, देशको उद्योग निजी क्षेत्रलाई सुम्पने जस्ता कारणले देशमा परनिर्भरता बढेको बताउनुभयो । उहाँले नेपालीले हरेक कुरामा भारतको मुख ताक्नु पर्ने अवस्था सिर्जना भइरहेकोले सहकारी मार्फत उत्पादनशील क्षेत्रमा लगानी गरी विस्तारै त्यस्तो परनिर्भरता कम गर्न सकिने विचार व्यक्त गर्नुभयो । उहाँले समुदायमा आधारित सहकारीले कृषक तथा साना उद्यमीहरुलाई आवश्यक पर्ने कम्पोष्ट मल बनाउने, उद्यमशीलता तालिम सञ्चालन गर्ने र त्यस्ता सदस्यहरुलाई सहज रुपमा ऋण लगानी गर्न सकिने वातावरण तयार गर्नु पर्ने खाँचो औंल्याउनुभयो । नयाँ पिँढीलाई नैतिक शिक्षाको आवश्यकताबारे प्रकाश पार्दै उहाँले भविष्यका संवाहकलाई हामीले हाम्रो सांस्कृतिक, सभ्यता, बानीव्यहोरा, आदर सम्मान जस्ता व्यवहारिक शिक्षा सहकारीले सञ्चालन गर्नुपर्ने बताउनुभयो । सो सभामा साविक भक्तपुर नगरपालिका वडा नं.१५ का पूर्व वडाध्यक्ष रविन्द्र खर्बुजाले सहकारीका कार्यहरु मध्ये सदस्यहरुलाई सहकारी शिक्षाको आवश्यकता रहेको बताउदै हामीले अध्ययनलाई कहिल्यै बोझको रुपमा नलिई फुर्सदको समयलाई अध्ययन गरी सदुपयोग गर्नु पर्ने खाँचो औंल्याउनुभयो ‌‌। उहाँले चाडबाडको समयमा जीवनलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन मार्गदर्शन दिने ज्ञानमूलक पुस्तकहरु पढ्न सुझाव दिनुभयो । सोही सभामा
भक्तपुर नगरपालिका वडा नं २ का वडा सदस्य श्याम सुन्दर मातांले सहकारीको एकीकरण गर्नु पर्ने विषय उठिरहेको अवस्थामा प्रदेश सरकारबाट गैर-कानुनी रुपमा दर्ता भएका बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई तत्काल खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुरमा सहकारी क्षेत्रको सुधारका लागि भक्तपुर नगरपालिकाबाट नियमित रुपमा सहकारीको अनुगमन हुदै आएको जानकारी दिनुभयो । उहाँले जनताको स्वास्थ्यमा नगरपालिकाले पहिलो प्राथमिकतामा राख्दै आएकोले पछिल्लो समय महामारीको रुपमा फैलिरहेका डेंगु रोगको रोकथाम तथा उपचारको बारेमा विभिन्न जनचेतनामूलक -यालीहरु सञ्चालन गरेको बताउनुभयो । नगरपालिकाबाट सञ्चालित देको मिवा इतापाको आवास योजनाको प्रगतिबारे चर्चा गर्दै उहाँले गुठी जग्गा रैतान सम्बन्धी कानुनी व्यवस्था सम्बन्धी आफ्नो विचार व्यक्त गर्नुभयो ।साधारण सभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का व्यवस्थापक बालकृष्ण ध्वजुले सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्यहरु गैर-समुदायमा आधारित सहकारी संस्थाहरुमा देखिएकोले त्यस्ता नराम्रा घटनाहरुबाट हामी सजग रहनु पर्ने बताउनुभयो । उहाँले सहकारी सरकारको विभागमा दर्ता भएपछि कुनैपनि छाता संघमा दर्ता नहुने प्रवृत्तिले त्यस्ता सहकारीहरुलाई शंकास्पदरुपमा सरकारले नियमन गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
उक्त सभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष राजन जतिले स्थानीय समुदायमा आधारित रही सहकारीको सिद्धान्त , नीति , विधि र प्रविधिलाई आत्मसाथ गरी आफ्ना शेयर सदस्यहरुलाई राम्रो सँग सेवा प्रवाह गरिरहेको हाम्रो यस लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुको गतिशीलति , शेयर सदस्य महानुभावहरुको स्नेह, साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र परिश्रमबाट प्रतिकुल अवस्थामा पनि निरन्तर प्रगति गर्दै अगाडि बढिरहेको बताउदै त्यसका लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले सो संस्थाको गतिविधि तथा चालु आर्थिक वर्ष २०७९/०८० को नीति, योजना र कार्यक्रमको बारेमा चर्चा गर्दै हाम्रो यस संस्थामा कुनै पनि किसिमको समस्या नरहेको स्पष्ट पार्नुभयो । सहकारी क्षेत्रको विरुद्ध फैलाइएका भ्रम र अफबाहको विरुद्ध सबै मिलेर विरोध गर्नु पर्ने र सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका सामाजिक क्रियाकलापको प्रचार प्रसार हुनु आवश्यक रहेको उहाँको भनाई छ ।

उक्त सभामा मित्र साकोसहरुको तर्फबाट सिद्धि गणेश साकोसका ईश्वरमान दुमरु र तलेजु साकोसका लक्ष्मीप्रसाद गोराले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो । त्यसै संस्थाका उपाध्यक्ष प्रनेश बाटीले सञ्चालन र प्रबन्धक प्रशान्त मानान्धरले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त सभा त्यसै संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन , सचिव कृष्णराम तुकंबञ्जारले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सोही अवसरमा संस्थाका जेष्ठ सदस्यहरु, उच्च मावि उत्तीर्ण विद्यार्थीहरु, असल बचतकर्ता, असल ऋणी तथा असल बाल सदस्यहरुलाई पनि सम्मान गर्नुका साथै संस्थाबाट आयोजित विभिन्न खेलमा सहभागी विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

सभाको बीचबीचमा सास्कृतिक प्रस्तुतीहरु भएको थियो ।

साधारण सभामा सस्थाको कुल सदस्यहरु मध्य ८२.०७ प्रतिशत शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
साधारण सभामा निर्वाचन समितिबाट आगामी चार बर्षको लागि पुन: राजन जतिको अध्यक्षतामा

९ सदस्यीय संचालक समिति तथा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन भएको घोषणा गरिएको थियो ।

यो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा रक्तदान कार्यक्रम , स्वास्थ्य शिवीर , सरसफाई , सहकारी शिक्षा तालिम , बाद्यबादन तथा साहित्य लेखन तालिम , उद्यमशील सीपमूलक तालिम जस्ता सामाजिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

Leave a Reply