वचन साकोस, डिल्लीबजारद्वारा “पल्स व्यवस्थापन, सहकारी मानव संशाधन र ऋण व्यवस्थापन सम्बन्धी तालिम” तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं/ काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा “पल्स व्यवस्थापन,सहकारी मानव संशाधन र ऋण व्यवस्थापन” सम्बन्धी १ दिवसीय तालिम सम्पन्न भयो । यही मंसीर १८ गते काठमाडौंको डिल्लीबजारस्थित इचिवनमा सो तालिम उक्त संस्थाका उपाध्यक्ष मुकुन्दराज खनालको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लि.,पुतलीसडक शाखाकी प्रमुख अरुणाकुमारी रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस अवसरमा प्रमुख अतिथि रेग्मीले वचन साकोस राम्रो सँग अगाडि बढिरहेको देखिएकोले यो संस्थासँग बचत र ऋण कारोवार गर्ने विषयमा राष्ट्रिय सहकारी बैंक लि. सहकार्य गर्न तयार रहेको बताउनुभयो । तालिमको अध्यक्षता गर्दै त्यसै संस्थाका उपाध्यक्ष खनालले सो संस्थाको समग्र अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो । उक्त संस्थाका शिक्षा उप-समिति सदस्य कृष्णप्रसाद डंगोलले सञ्चालन र प्रबन्ध निर्देशक देशमर्दन बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस तालिममा सोही संस्थाका सचिव अर्जुनप्रसाद रिमालले तालिममा सहभागीहरुले सिकेको सीप र ज्ञानलाई राम्रोसँग व्यवहारमा उपयोग गर्नु हुनेछ भनी विश्वास व्यक्त गर्नुभयो । त्यस तालिममा नेपाल खुल्ला विश्वविद्यालयका प्रा.डा. अरहन स्थापितले सहकारीमा मानव संशाधन तथा व्यवस्थापन , नेफ्स्कूनका वरिष्ठ अधिकृत तथा प्रशिक्षक बल्लभ तिमिल्सिनाले ऋण व्यवस्थापन तथा असुली , राइट लाइफ फाउण्डेसनका राजेन्द्रप्रसाद न्यौपानेले सकारात्मक सोच सहितको सहकारी नेतृत्व र वचन बचत तथा ऋण सहकारी संस्था लि.का लेखा परीक्षक प्रधुम्न घिमिरेले फल्स व्यवस्थापन प्रणाली विषयमा सहजीकरण गर्नु भएको थियो ।

उक्त अवसरमा सो संस्थाका ७० बर्ष उमेर माथिका जेष्ठ शेयर सदस्यहरु प्रा.डा. मुरारी प्रसाद रेग्मी, रामबाबु धिमाल , नेत्रनाथ पोखरेल , माइली सापकोटा र नवराज लोहारलाई सु-स्वास्थ्य तथा दीर्घायुको कामना गरी सम्मान गरिएको थियो । त्यसैगरी सोही संस्थाका प्रबन्ध निर्देशक देशमर्दन बस्न्यातले हालै विद्यावारिधि उपाधि हासिल गर्नु भएकोमा उहाँलाई उत्तरोतर प्रगतिको कामना सहित बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । त्यस्तैगरी उक्त संस्थाकी लेखा इञ्चार्ज नानी मैया पौडेललाई उत्कृष्ठ कर्मचारी पुरस्कार र बिगत १२ बर्षदेखि त्यसै संस्थामा कार्यरत कार्यालय सहयोगी देवकृष्ण देउवालाई दीर्घ सेवा पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो । उक्त अवसरमा नेपाल आदर्श मा.वि. गणबहाल, काठमाडौंका आर्थिक विपन्न‌ तथा लगनशील छात्रा शोभा बरुवाल र छात्र निरज श्रेष्ठ तथा नन्दी मा.वि., नक्साल, काठमाडौंका आर्थिक विपन्न तथा लगनशील छात्राद्वय पवित्रा वि.क. र लक्ष्मी कार्कीलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

कतैबाट कुनै ऋण नलिई सञ्चालन भइरहेको उक्त संस्थामा यही मंसीर १७ गतेसम्म शेयर सदस्य संख्या २,३२५ , शेयर पूँजी रु.४,१४,९४,२००, जम्मा निक्षेप रु.२१,८६,६८,५२४.०८, जम्मा ऋण लगानी रु.२३,२८,९७,८२६.०९ र कूल कारोवार रु.२८,८५,६६,३०८.३२ रहेको जनाइएको छ । सो संस्थाले Prabhu Remit, IME Remit, western union Remit , Himal Remit र Sansara Remit सेवा सञ्चालन गरिरहेको छ ।

Leave a Reply