विजयी भव: साकोस, गुर्जुधाराले शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने

आफ्ना शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७८/०७९ मा आर्जन गरेको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गर्दै काठमाडौको चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा रहेको विजयी भव: बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा गुर्जुधारा – देथली स्थित डी.बी. भेन्युमा शेयर सदस्यहरुको उत्साहजनक सहभागितामा २०७९ पुस २ गते शनिबार सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष सत्यराज श्रेष्ठको अध्यक्षता तथा नेपाल टेलिकमका प्रबन्धक हरिप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रमुख अतिथि शर्माले उक्त साधारण सभाको उद्घाटन गर्नुभयो । त्यस अवसरमा प्रमुख अतिथि शर्माले सहकारीको महत्वको बारेमा प्रकाश पार्दै सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले स्थानीय समुदायमा आधारित यस विजयी भव: साकोसले स्थापना भएको छोटो समयमा नै उल्लेख्य प्रगतिको गरेको देख्ता खुशी लागेको बताउदै यसको थप प्रगतिको कामना गर्नुभयो । साधारण सभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका अध्यक्ष सत्यराज श्रेष्ठले समाजमा छरिएर रहेको स-सानो रकमलाई संकलन गरेर त्यसलाई प्रवाह गरी आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पु-याउने उद्देश्यले स्थापना भएको हाम्रो यो संस्था शेयर सदस्य ज्यूहरुको निरन्तर साथ र सहयोगले विषम परिस्थितिमा पनि निरन्तर रुपमा प्रगतिपथमा अगाडि बढिरहेको छ भन्दै आगामी दिनमा पनि यसमा सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । त्यसै संस्थाका उपाध्यक्ष पुरुषोत्तम श्रेष्ठले स्वागत मन्तव्य र सचिव रामचन्द्र महर्जनले सञ्चालन गर्नु भएको साधारण सभामा सोही संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक नारायणप्राद सिग्देलले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष सञ्जिवकुमार श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाले ती प्रतिवेदनहरु पारित ग-यो ।

साधारण सभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष ०७८/०७९ मा सो संस्थामा शेयर पूँजी रु. १,०८,८८,१०० , जगेडा तथा अन्य कोषमा रु. १,०१,४५,६९५ , निक्षेप संकलन रु. १६,८४,४४,४६४ ,कर्जा लगानी रु. १४,९४,०५,०८० र खुद मुनाफा रु.३२,०६,८१४ रहेको उल्लेख छ । संस्थाले बचत तथा ऋण कारोवार र विप्रेषण ( Remittance ) सेवा सञ्चालनका अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा मठ-मन्दीर निर्माण , स्थानीय स्वास्थ्य सरोकारका संघ/ संस्था र खेलकुद क्लवहरुलाई आवश्यक सहयोग गर्ने जस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको पनि ती प्रतिवेदनमा उल्लेख छ । साधारण सभामा नियमित बचत गर्ने विष्णुदेवी ठूलो गुठीलाई आवश्यक सामग्री सहयोग स्वरुप प्रदान गरियो। त्यसै संस्थाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले संयोजनकारी भूमिका निर्वाह गर्नु भएको त्यो साधारण सभामा शनिबार र सार्वजनिक बिदाको दिन समेत संस्थाको कार्यालय सञ्चालन गरेर आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको यो संस्थामा तरलता रकम ३१.०० प्रतिशत रहेको जानकारी दिइयो ‌।

Leave a Reply