सहकारी निर्देशन सकारात्मक : मेयर जीवन खत्री

भक्तपुर/ भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले सहकारी निर्देशन समुदायमा आधारित सहकारी संस्थाको लागि सकारात्मक रहेको बताउनुभएको छ । मंगलबार भक्तपुरको खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको हलमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिको आयोजनामा सम्पन्न “सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन, कोपमिस र गोएएमएल” विषयक अन्तर्क्रिया कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उहाँले ‘सहकारी निर्देशनले गैरसामुदायियक सहकारी संस्थालाई नियम संगत सञ्चालन गर्न सचेत गराएको छ’, भन्नुभयो । सहकारी निर्देशन समुदायमा आधारित सहकारी संस्थाको पक्षमा रहेकोले यसको पालना गर्नुपर्नेमा जोड दिनु हुदै उहाँले चाँगुुनारायण नगरपालिकाले स्थानीय सहकारी संस्थाको प्रबर्द्धन र विकासका लागि चाँगुनारायण नगरसभाले नीति तथा कार्यक्रम सहित बजेट समेत पारित गरेको बताउनुभयो ।
सो कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले

सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन विषयमा प्रस्तुती गर्नुभयो । अध्यक्ष लाखाजुले सो निर्देशनको समीक्षा गर्दै उक्त निर्देशन सकारात्मक रहेको तर यो निर्देशन हाल प्रक्रिया नपु-याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे भने मौन देखिएको बताउनुभयो । उहाँले सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधि गर्न सक्ने अवस्था नहुँदा सहकारीको कारोबारको आधारमा बर्गिकरण गरी अनिवार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपमिसको परिचय, कोपमिस प्रयोग गर्दाको फाइदा र हाल कोपमिसमा भएको अद्यावधिका बारेमा प्रस्तुती गर्नुभयो । गोएएमएलमा दर्ता र प्रतिवेदनहरु कसरी अनलाइनबाट बुझाउने भन्नेबारेमा समेत प्रस्तुतीकरण गर्दै उहाँले राज्यले सहकारी प्रबर्द्धन र विकासको लागि नै नयाँ प्रविधिहरुको विकास गर्ने भएकोले कोपमिस र गोएएमएल सफ्वेयरमा आबद्ध भई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्दै उक्त संघकी सञ्चालक एवम् सोही उपसमिति संयोजक सन्तोषी खतिवडा कार्कीले ‘यस कार्यक्रममा प्रस्तुत भएको ३५ बुँदे निर्देशन, कोपमिस र गोएएमएलमा आबद्धताले सहकारी संस्था अझ नीतिगत रुपमा सबल हुन्छ’, भन्नुभयो । उहाँले हाल सहकारी ऐन, नियम र निर्देशनको पालना नगर्ने सहकारीहरुमा समस्या देखिको र त्यसले गर्दा सही ढंगले सञ्चालन भइरहेका सहकारीलाई पनि लज्जित र अविश्वासको वातावरण सिर्जना हुने अवस्था बनेको बताउनुभयो । त्यसै उपसमितिका सदस्य सालिकराम लामिछानेले स्वागत मन्तव्य र सोही उपसमितिका सदस्य लीलानाथ निरौलाले सञ्चालन गर्नु भएको त्यस अन्तर्क्रिया कार्यक्रममा चाँगुनारायण नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी ३१ जनाको सहभागिता रह्यो. ।

Leave a Reply