काठमाडौं महानगरपालिका-१७, ठमेल- क्वाबहालमा रहेको श्री साई बचत तथा ऋण सहकारी संस्था लि.को २४औं स्थापना दिवसको अवसरमा विगतमा झैं यस वर्ष पनि काठमाडौंको जमलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यही माघ २८ गते सो संस्थाको स्थापना दिवस परेपनि रक्तदान कार्यक्रम भने प्राविधिक कारणले गत माघ २७ गते गरिएको उक्त संस्थाले जनाएको छ । अस्पतालहरुमा उपचाररत विरामीहरुको रगत अभावले उपचारमा समस्या नआओस् भन्ने उद्देश्यले बिगतमा झैं यस वर्ष पनि यो रक्तदान कार्यक्रम आयोजना गरेको सोही संस्थाकी अध्यक्ष रमिला शर्माको भनाई छ ।
स्थानीय समुदायमा आधारित सो संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समय-समयमा विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ । आफ्नै भवनबाट सञ्चालन भइरहेको उक्त संस्थाले गत माघ ३ गते भक्तपुरको सानोठिमीमा रहेको ॐ बृद्धाश्रमलाई खाद्धान्न सहयोग गरेको थियो ।






