प्रतिगमन विरोधी आन्दोलनको पहिलो शहीद देवीलाल पौडेलको विद्यार्थी आन्दोलनका उनका समकालीनहरुले सम्झना गरेका छन् । त्यसबेलाका नेकपा (माले) निकट अनेरास्ववियूका नेता तथा हालको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख कृष्णहरि भट्टले शहीद देवीलाल पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘आज पनि प्रतिगामीहरुको हालिमुहाली चलिरहेछ । जनताको शासन आएको छैन । जनवादी राज्यसत्ताका लागि सशक्त जनसंघर्ष गर्न आवश्यक छ‘, भनी सामाजिक सञ्जाल फेसवुकमा लेख्नुभएको छ । यसैगरी सोही पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष एवं २०६७ देखि २०६९ सालसम्म तत्कालीन नेकपा (एकीकृत) निकट अनेरास्ववियू (एकीकृत)का अध्यक्ष रहेका अर्जुन कार्की तत्काल प्रतिगमन विरोघी संयुक्त विद्यार्थी आन्दोलनका साझा शहीद देवीलाल पौडेल स्मृति प्रतिष्ठान निर्माण गर्ने त्यो बेला विद्यार्थी संगठनहरुका नेताहरुले प्रतिबद्धता व्यक्त गरेको बताउनुहुन्छ । शहीद देवीलाल पौडेलको निधन भएको २० वर्ष पूरा भयो तर शहीद देवीलाल पौडेल स्मृति प्रतिष्ठान बन्न सकेको छैन र बनाउने गरी यसबेलासम्म न कसैले केही गरेको नै छ । बरु समय बित्तै जादा शहीद देवीलाल पौडेललाई विद्यार्थी संगठनका नेता-कार्यकर्ताहरुले सम्झना गर्न छाडेको जानकारहरु बताउछन् ।
तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गते जन -अधिकार खोसेर मुलुकलाई प्रतिगमनमा धकेलेपछि विद्यार्थी संगठनहरु , राजनीतिक दलहरु लगायतले त्यसको विरोध गरेका थिए । यसैक्रममा २०५९ चैत्र २५ गते तत्कालीन ८ विद्यार्थी संगठनको आयोजनामा देशव्यापी रुपमा भएको प्रतिगमन विरोधी आन्दोलनका क्रममा बुटवल क्याम्यसमा प्रहरीको गोली लागेर ढलेका सोही क्याम्पसका विद्यार्थी देवीलाल पौडेलको निधन भएको थियो । त्यसको भोलिपल्ट अर्थात चैत्र २५ गते प्रहरीले पौडेललाई हत्या गरेको शोकमा संयुक्त रुपमा ८ विद्यार्थी संगठनले काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा विरोध सभा गरेका थिए । २०६२/०६३ को जन-आन्दलनपछि बनेको नेपाल सरकारले दिवंगत पौडेललाई प्रतिगमन विरोधी आन्दोलनको पहिलो शहीद घोषणा गरेको थियो ,
स्याङ्जाबाट उच्च शिक्षा अध्ययनका लागि बुटवल झरेका शहीद देवीलाल पौडेल त्यसबेलाको ने.प्र.वि.यू.मा आवद्ध थिए ।





