भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को तालिम हल, भक्तपुरमा २०८० बैशाख ८ गते शुक्रबार एक दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
तनलिममा सो संघका उपाध्यक्ष हरि बल्लले बजारमा संस्थाप्रतिको विश्वासलाई भन्दा पनि व्याजदर र बजार प्रतिनिधिको अनुहार हेरेर सदस्यले बचत गर्ने गलत मानसिकताको विकास भएको बताउदै सदस्यलाई सहकारी सम्बन्धी सही सूचना र शिक्षा दिई सदस्यको बचत सुरक्षाका लागि बजार प्रतिनिधि सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले तालिमबाट सिकेका ज्ञान र सीप संस्थाको विकासका साथै व्यक्तिगत जीवनमा पनि प्रयोग गरी व्यक्तिगत उन्नती तथा प्रगति गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी सोही संघका सचिव एवं संस्थागत विकास उपसमितिका संयोजक जगनाथ प्रजापतीले संस्थाका लागि बजार प्रतिनिधि नभई संस्थाको प्रतिनिधि रहेको बताउनुभयो । उहाँले संस्थाको छवि निर्माणमा बजार प्रतिनिधिको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै तालिमले बजारमा सहकारीको सकारात्मक सन्देश प्रवाहमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
तालिममा त्यसै संघका व्यवस्थापक बालकृष्ण धोजुले सहजिकरण गर्दै हालको मन्दीको अवस्थामा बजार प्रतिनिधिहरु स्व-उत्प्रेरित भई सदस्यहरुलाई निरन्तर सेवा, सम्पर्क र सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले हालको सहकारी समस्याको समाधान सदस्यलाई सहकारी शिक्षा र सबलिकरण गरी सदस्यबाटै खोज्नुपर्ने खाँचो औंल्याउनुभयोे ।
तालिममा सहभागीहरुले छोटो अवधिको तालिममा पनि समूह कार्य, प्रवचन, रोल प्ले जस्ता शिक्षण विधिहरुबाट धेरै कुराहरु सिक्न पाएँकोमा खुशी व्यक्त गर्दै तालिम प्रभावकारी भएकोले बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धिमा धेरै सहयोग पु-याएको बताए । तालिममा सदस्य संस्थामा कार्यरत २० जना बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिम समापनको सञ्चालन उक्त संघका कर्मचारी राजन कासिछ्वाले गर्नुभयो ।
तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गरियो ।






