
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आर्थिक वर्ष २०७९/०८० को बार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यक्रम सोही संस्थाका अध्यक्ष् राजन जतिको अध्यक्षतामा आज सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता गर्दैउक्त संस्थाका अध्यक्ष जतिले ‘यस संस्थाले वित्तीय कारोबार मात्र नभइ सदस्यहरुको माग अनुसार सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका कार्यहरु गर्दै आएको ,जसले सामाजिक रुपान्तरण तथा सदस्यहरुको जीवनस्तर सुधारमा अहम् भूमिका खेलेको छ’, भन्नुभयो । अहिले सहकारी क्षेत्रमा देखिएको समस्यालाई औंल्याउदै उहाँले त्यसको अशर सबै आर्थिक क्षेत्र र सहकारी क्षेत्रमा पनि प्रत्यक्ष परेको छ, त्यसैले हामीले समुदायमा आधारित रहेर सञ्चालित सहकारी र अन्य सहकारी बीच भिन्नता गर्न सक्नुपर्ने र सोही अनुसार मात्रै बचत राख्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाको साविक १५ नम्बर वडाका भूतपूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाले सहकारी संस्था पारदर्शी हुनुपर्ने र यस्तो किसिमको समीक्षा कार्यक्रमहरु निरन्तर गर्नुपर्ने बताउनुभयो । देशको विग्रन्दो राजनीतिक अवस्थालाई औल्याउदै उहाँले अहिले पनि अस्थिर राजनीतिक अवस्था रहेको र सबै ठूला राजनीतिक दलहरुमा संघीय संसदको निर्वाचनबाट विभिन्न अपराधिक क्रियाकलापमा आवद्ध व्यक्ति, भूमाफिया र ठूला ठेकदारहरु निर्वाचित भएर आएकोमा आपत्ति जनाउदै त्यस्ता व्यक्तिहरुले आफ्नो हितमा रहेर नीति नियमहरु ल्याएको जानकारी दिनुभयो । अहिलेको तत्कालीन अवस्थामा देखिएको सुन तस्करी बारे चर्चा गर्दै उहाँले सरकारबाट यस्ता गतिविधिको छानविनका लागि गठन भएका समितिहरु प्रभावकारी नभएको र त्यस्ता समितिले बनाउने प्रतिवेदनबाट सत्यतथ्य कुरा बाहिर नआएको विचार व्यक्त गर्नुभयो ।
यसैगरि कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं.२ का वडा सदस्य एवं सहकारी अनुगमन समितिका सदस्य श्यामसुन्दर मातांले भक्तपुर नगरपालिकाले हालसालै गरेको सहकारी अनुगमन र अनुगमनको क्रममा देखिएका सहकारीको अवस्थाको बारेमा जानकारी दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाले गर्दै आएका सहकारीसँग सम्बन्धित गतिविधिहरु, अति आवश्यक तालिमहरु सञ्चालन लगायत भक्तपुर नगरपालिकाले गर्दै आएको विविध कार्यहरुको बारेमा जानकारी दिनुभयो ।
कार्यक्रममा त्यसै संस्थाका सचिव राजु छुकां, कोषाध्यक्ष पुण्यराम स्वंगमिखा, लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीभक्त दुवाल र विभिन्न उपसमितिका संयोजक आ-आफ्नो समिति तथा उपसमितिको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरु त्यस संस्थाका सदस्यहरुले आफ्नो जिज्ञस सहित सल्लाह सुझाव प्रस्तुत गर्नुभएक भएको थियो भने कार्यक्रममा संस्थाका प्रबन्धक प्रशान्त मानन्धर र लेखापाल शर्मिला मानन्धरले पनि आ-आफ्नो विचनर व्यक्त गर्नुभएको थियो ।






