मेक इन नेपाल स्वदेशी अभियानको प्रबर्द्धन गरिनुपर्ने


नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आय‍ोगलाई आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ पञ्चवर्षीय योजना तर्जुमा गर्न सुझाव दिएको छ । आज सो परिसंघले १६औंँ पञ्चवर्षीय योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययनसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगमा पेश गर्दै यस्तो सुझाव दिएको हो । गुणस्तरीय पूर्वाधार विकासका लागि न्यून बोलकबोललाई आधार मानेर आयोजना दिन नहुने, सीमा क्षेत्रमा हुने अवैध कारोबारलाई नियन्त्रण गरिनुपर्ने, नेपालको निर्यात प्रबर्द्धन गर्न विभिन्न मुलुकसँग दोहोरो करमुक्ति सम्झौता गर्नुपर्ने र रोजगारमुलक सीप विकासलाई उच्च प्राथमिकतामा राख्न पनि उक्त परिसंघले सुझाएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राष्ट्रिय य‍ोजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठलाई नेपाल उद्योग परिसंघको सुझाव हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा अध्यक्ष अग्रवालले १६औँ पञ्चवर्षीय योजना औद्योगिक विकासमा केन्द्रित गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले औद्योगिक विकासमा केन्द्रित हुन एकीकृत औद्योगिक विकास रणनीति बनाउनुपर्ने, उद्योगहरुका लागि जग्गाको सिलिङ तोक्न नहुने, नीतिगत स्थायित्व र अनुमान गर्न सकिने तथा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन मेक इन नेपाल स्वदेशी अभियानको प्रबर्द्धन गरिनुपर्ने सुझाव दिनुभयो ।

सो सुझाव ग्रहण गर्नुहुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.श्रेष्ठले १६औंँ पञ्चवर्षीय योजना उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित हुन खोजिएको बताउनुभयो । उत्पादन बढेमात्रै आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन सकिने भएकाले आगामी योजना यसमै केन्द्रित हुने भन्दै उहाँले नीति तथा योजना बनाउँदा निजी क्षेत्रको समेत प्रभावकारी सहभागिता खोजिएकाले १६औं पञ्चवर्षीय योजना तर्जुमा गर्दा नेपाल उद्योग परिसंघले मेहेनतका साथ अध्ययन गरेर दिएको सुझाव महत्वपूर्ण हुने बताउनुभयो ।
नेपाल उद्योग परिसंघले अध्ययन गरेरै राष्ट्रिय योजना आयोगले माग गरेको ढाँचामा १४ वटा परिच्छेदमा ४९ पृष्ठको विस्तृत सुझाव सो आयोग समक्ष पेश गरेको जनाएको छ ।
उक्त सुझाव हस्तान्तरण कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोयनारायण ज्ञवाली, नेपाल उद्योग परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे र अमित मोर, पदाधिकारी सदस्य छाया शर्मा र महानिर्देशक दीपकराज जोशी लगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *