
शान्त लक्ष्मी खड्गीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मतीका साथ चयन गर्दै ललितपुरको कुम्भेश्वरमा रहेको कुम्भेश्वर महिला बतत तथा ऋण सहकारी संस्था लि.को १३औँ वार्षिक साधारण सभा यही मंसिर ३ गते ज्यापू प्रज्ञा भवन , ललितपुरमा सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने सो समितिको सचिवमा सफलता खड्गी, कोषाध्यक्षमा रंगिता खड्गी तथा सदस्यमा रजनी खड्गी, गायत्री शाही, जरिना खड्गी र शर्मिला खड्गी हुनुहुन्छ भने साधारण सभाबाट उक्त संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा मोनिका खड्गी तथा सदस्यमा सुधीरा शाही खड्गी र ग्रिष्मा शाही निर्विरोध चयन हुनुभएको छ ।

सो संस्थाकी अध्यक्ष बिञ्जु खड्गीको अध्यक्षतामा सम्पन्न त्यस साधारण सभाको ललितपुर महानगरपालिकाकी उप-प्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै उप-प्रमुख शाक्यले केही सहकारी संस्थाले गरेका गलत क्रियाकलापका कारण सिङ्गो सहकारी अभियानप्रति नै सदस्यहरुको अविश्वास पैदा भइरहेको बेलामा कुम्भेश्वर महिला सााकोसले गरेको प्रगति देख्ता खुशी लाागेको बताउनुभयो । सहकारी सद्धान्त, मूल्य र मान्यतालाई आत्मसाथ गरी समुदायमा आधारित रहेर सदस्य केन्द्रित भई सञ्चालन भएका सहकारी संंस्था समस्यामा नरहेको भन्दै उहाँले व्याजको लोभको नपरी सुशासनमा चलेका कुम्भेश्वर महिला साकोस जस्ता सहकारी संस्थामा मात्रै कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्नुभयो । ललितपुर महानगरपालिकाले सहकारीमा सुशासन कायम गर्ने तथा सहकारीको विकास र प्रवर्द्धन हुने गरी कार्य गरिरहेको उहाँको भनाइ थियो ।
साधारण सभामा सोही संस्थाकी अध्यक्ष बिञ्जु खड्गीले संस्थाको सञ्चालक समितिको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समुदायमा रहेर सहकारी सिद्धान्त , मूल्य र मान्यता तथा नियामक निकायबाट प्राप्त भएका निर्देशन र सुझावलाई आत्मसाथ गरी सञ्चालन भइरहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि.ले छरिएर रहेको स-सानो पूूँजीलाई सदस्यहरुको माध्यमबाट संकलन गरेर त्यसलाई सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी उत्पादनशील र आयमुलक क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो । हाम्रो यस संस्थाले सदस्यहरुलाई नियमित बचत गर्ने बानीको विकास गर्ने र समय समयमा उनीहरुका लागि सीपमुलक तालिम सञ्चालन गर्दै आएको बताउदै उहाँले यस संस्थाले महिला सशक्तिकरणमा समेत सहयोग पुुग्ने गरी कार्य गरिरहेको विचार व्यक्त गर्नुभयो ।
साधारण सभामा उक्त संस्थाकी सचिव सफलता खड्गीले आर्थिक बर्ष २०७९/०८० को संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यस संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य शिविर सञ्चालन जस्ता रचनात्मक कार्य गर्ने, आवश्यकताको आधारमा सदस्यहरुका लागि विभिन्न सीपमुलक तालिम सञ्चालन गर्ने र बचतकर्ता सदस्यहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने जस्ता योजना र कार्यक्रम प्रस्तुत गर्नुभयो । यस संस्थाले जेष्ठ सदस्यहरुलाई दशैं भत्ता प्रदान गर्ने र बाल बचतकर्ता सदस्यहरुको जन्मदिनमा बर्डे केक प्रदान गर्ने उहाँको थप भनाइ थियो ।
साधारण सभामा त्यसै संस्थाकी कोषाध्यक्ष शान्त लक्ष्मी खड्गीले आर्थिक बर्ष २०७९/०८० संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २०८० असारमसान्तसम्म हाम्रो यस संस्थामा शेयर सदस्य ८१३ जना, शेयर पूँजी रु. १ करोड २२ लाख २६ हजार , निक्षेप संकलन रु.१२ करोड ५२ लाख ८९ हजार र कर्जा लगानी रु.१७ करोड ६ लाख ७१ हजार र जगेडा तथा अन्य कोष रु.२३ लाख ८७ हजार रहेको बताउनुभयो । उहाँले कुम्भेश्वर सहकारी के हो र कुम्भेश्वरमा नै किन बचत गर्ने ? भन्ने विषयमा प्रस्तुतीकरण समेत गर्दै कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि. सुरक्षित रहेकाले सदस्यहरुले ढुक्क भएर यस संस्थामा आफ्ना सबै कारोकार गर्न आग्रह गर्नुभयो ।
सदस्यहरुको उल्लेख्य सहभागिता रहेको यो साधारण सभाले सदस्यहरु बीच छलफल सम्पन्न भएपछि सबै प्रतिवेदनहरु पारित गरेको थियो ।
साधारण सभामा सो संस्थाकी उत्कृष्ट बचतकर्ता सदस्य रेनुका खड्गी तथा उत्कृष्ट ऋणी सदस्यद्वय कमल खड्गी र लक्ष्मी लेप्चालाई सम्मान गर्नुका साथै स्थानीय युवाहरुलाई बाद्यबादन सामग्री प्रदान गरिएको थियो ।




