भक्तपुर जिल्ला बचत संघको १९औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा बरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंले राज्य संघीयतामा गई सकेपछि केन्द्रीकृत नीति नियम लाद्नु हुदैंन – अझ सहकारीमा त एक गाउँको आवश्यकता अर्को गाउँसँग फरक हुने भएकोले केन्द्रीकृत नीतिले काम नगर्ने विचार व्यक्त गर्नुभएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,भक्तपुरको १९औँ बार्षिक साधारण सभाको भक्तपुर बैंक्वेट, भक्तपुरमा २०८० मंसिर ९ गते शनिबार उद्घाटन गर्दै अध्यक्ष बिजक्छेंले सहकारी बैंक वित्तीय संस्था भन्दा पृथक हुुनुपर्ने बताउनुभयो । उहाँले सहकारी धनी वर्गलाई नभई किसान न्यून आय भएका वर्गको उत्थानको लागि हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘सहकारीमा नाफा घाटाको भन्दा पनि सदस्यको जीवन परिवर्तनका लागि कार्य गर्नुपर्छ र यसको लागि सहकारीले उत्पादनमुलक उद्योग, कृषि, उपभोक्ता पसल, रोजगारी सिर्जना लगायतको क्षेत्रमा ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णग‍ोविन्द लाखाजुको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक टेकप्रसाद चौलागाईँले सहकारीमा सदस्यले संस्था र संस्थाले सदस्यलाई चिन्न नसक्दा हालको समस्या सिर्जना भएको बताउनुभयो । उहाँले समस्यालाई अवसरको रुपमा लिई सहकारी संघ/ संस्थालाई बलियो बनाउन सहकारी अभियान एकमत हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

यसैगरी साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्यालले सहकारीका योगदानहरु संस्थागत हुन नसक्दा सहकारी अभियानका एजेण्डाहरु छायाँमा परेको विचार व्यक्त गर्नुभयो । सहकारीको दिशा स्पष्ट हुँदा हुदैँ पनि भ्रमित गर्ने कार्य भइरहेको छ भन्दै उहाँले यस्ता भ्रम चिर्न र सहकारी अभियानलाई मजबुद गर्न सहकारी संघ/ संस्थाहरुको सञ्जाल व्यवस्थापन अपरिहार्य रहेको बताउनुभयो । उहाँले सहकारीको बचत सुरक्षा गर्न र सहकारी अभियानलाई बचाउन स्थिरीकरण कोषको आवश्यकता औल्याउनुभयो ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धवप्रसाद सापकोटाले सहकारीमा देखिएका समस्या तुलनात्मक रुपमा भक्तपुरमा कम रहेको र यो संघले सदस्य संस्थालाई सुशासनमा राख्न सक्षम रहेको बताउनुभयो। उहाँले सहकारी संस्थाका समस्याहरु समाधान गर्न अनुगमनलाई जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का निवर्तमान अध्यक्ष राधेश्याम सुवालले यस संघले हालको परिस्थितिमा पनि आर्थिक प्रगति गर्न सकेकोमा खुशी व्यक्त गर्दै सहकारी संस्थामा देखिएका विकृतिहरुको दीर्घकालीन समाधानका लागि सहकारी संघहरु लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो।
साधारण सभाको अध्यक्षता गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष लाखाजुले सहकारीमा लोभी बचतकर्ता, कमजोर नियमन र कमजोर सहकारी अभियानका कारण सहकारी क्षेत्रमा संकट देखिएको बताउनुभयो । उहाँले सहकारी क्षेत्र सुधार कार्यदलले दिएका सुझावहरु तत्काल कार्यान्वयनमा ल्याई सदस्यको बचत सुरक्षा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । संघहरुले सहकारीका सिद्धान्त, ऐन, नियम र आफ्नै विनियम पालनाको अवस्था अनुगमन गरेर मात्र सदस्यता प्रदान गरेमा अभियान शुद्धिकरण हुने उहाँको भनाइ थियो ।

सोही संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारीमा सुशासनको पालना सहकारी संघहरुबाटै शुरु गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
साधारण सभाको मुख्य सत्रमा त्यसै संघका सचिव जगनाथ प्रजापतीले सो संघको आर्थिक वर्ष २०७९/०८० को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुलाई १५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव र संरक्षित पूँजी फिर्ता दिने प्रस्ताव पेश गर्नुभयो भने स‍ोही संघका कोषाध्यक्ष काञ्छाभक्त घजुले उक्त संघको आर्थिक वर्ष २०७९/०८० को वित्तीय प्रगति प्रतिवेदन पेश गर्नुभयो ।

साधारण सभाबाट त्यस संघको आर्थिक वर्ष २०७९/०८० को रु.२ अर्व २२ करोड ७४ लाख ३९ हजारको वासलात , रु.३ करोड ४० लाख ५३ हजारको नाफा सहितको लेखापरीक्षण प्रतिवेदन र आगामी आर्थिक वर्ष २०८०/०८१ मा संघको रु.२ अर्व ४५ करोड ५ लाखको अनुमानित बजेट पारित गरेको छ ।साधारण सभनमा सो संघका लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुकुण्द उपाध्यायले आर्थिक वर्ष २०७९/०८० को लेखा सुपरीवेक्षण समितिको बार्षिक प्रतिबेदन प्रस्ताव गर्नुभएको थियो ।
साधारण सभामा संरक्षित पूँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकत्तम योगदान गर्ने बचतमा उपकार बचत तथा ऋण सहकारी संस्था लि., सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. र भक्तपुर गणेश बचत तथा ऋण सहकारी संस्था लि. तथा ऋणमा बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि., संगम बचत तथा ऋण सहकारी संस्था लि. र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. गरी तीन/ तीन वटा सहकारी संस्थालाई संरक्षित पूँजी फिर्ता रकम सहित प्रशंसा-पत्र प्रदान गरियो ।

त्यसै संघका सञ्चालक काजीबहादुर पञ्चले सञ्चालन गर्नुभएको साधारण सभामा त्यस संघमा आबद्ध २०२ वटा संस्थाहरुमध्येबाट१६१ जना प्रतिनिधि, ८ जना अतिथि, १६ जना पर्यवक्षक र ९ जना कर्मचारी गरीे १९४ जनाको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा साधारण सभाका अधयक्ष लाखाजुले प्रमुख अतिथि बिजुक्छेंलाई मायाको चिनो प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *