उद्योगी व्यवसायीहरुमा व्यवसायजन्य सुरक्षा र स्वास्थ् (Occupational Safety & Health-OSH) सम्बन्धी सचेतनाको क्रममा नेपाल हस्तकला महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को संयुक्त तत्वाबधानमा २०८१ भाद्र २३ गते आइतबार ललितपुरमा पदयात्रा कार्यक्रम आयोजना गरिएको छ । बागमती प्रदेश सरकारका पूर्व उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यमा शुभारम्भ भएको पदयात्रामा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पदयात्रामा सहभागीहरुलाई स्वागत गर्दै व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety & Health-OSH) को आवश्यकता र महत्व बारेका प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका निवर्तमान संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य, ललितपुर महानगरपालिकाकी उप-प्रमुख मञ्जली शाक्य बज्राचार्य र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो । पदयात्रा ललितपुरको पाटनढोकाबाट प्रारम्भ भई ललितपुर महानगरपालिकाका विभिन्न टोल हुँदै साढे चार किलोमीटर यात्रा गरी ललितपुर महानगरपालिकाको कार्यालय पुल्चोकमा नेपाल हस्तकला महासंघका उपाध्यक्ष दीपेन्द्र शाक्यले धन्यवाद ज्ञापना गरी समापन भएको थियो ।


पदयात्रामा सहभागी पदयात्रीहरुले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety & Health-OSH) सम्बन्धी चेतना जागरण गर्ने विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । लतिपुर महानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, उद्योग, वाणिज्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरु र हस्तकला क्षेत्रका उद्योगी तथा व्यवसायीहरु र कर्मचारीहरु पदयात्रामा सरिक हुनुभएको थियो ।

सोही अवसरमा नेपाल हस्तकला महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा ‘उद्योग व्यवसायमा सञ्चालनको क्रममा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety & Health-OSH) सम्बन्त्री तोकिएको मापदण्ड पालना नगर्दा वर्षेनी ठुलो संख्यामा मानवीय क्षति हुने गरेको छ । यस सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले मापदण्ड तयार गर्नुका साथै उद्योग व्यवसायसँग सम्बन्धित विभिन्न संघ संस्था र ट्रेड युनियन अभियानसँग जोडिएका संघ संस्थाको सहयोगमा सचेतना फैलाउनुका साथै सचेतनाको क्रममा तालिम र गोष्ठी पनि आयोजना गर्दै आइरहेको छ । यही क्रममा नेपाल हस्तकला महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) बीचमा सन् २०१९ मा आपसी समझदारी) (MOU) भई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी कार्यहरु अघि बढिरहेका छन् । कार्यक्रम अघि बढाउने क्रममा झण्डै १,५०० जनालाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety & Health-OSH) सम्बन्धी तालिम प्रदान गरिएको छ भने उक्त तालिम दिन अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरु पनि तयार गरिएको छ । यसै गरी यस सम्बन्धी सचेतननको लागि विभिन्न प्रकाशनहरु तयार गरी सम्बन्धित उद्योगीहरुलाई वितरण गरिएको छ’, उल्लेख छ ।





