झण्डै ११ महिनापछि बल्ल पायो नेपाल धितोपत्र बोर्डले अध्यक्ष

सोमबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरणका पूर्व सञ्चालक तथा व्यवसायिक पृष्ठभूमिका स्याङ्जाका सन्तोषनारायण श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेसँगै नेपाल धितोपत्र बोर्डले ११ महिनापछि बल्ल अध्यक्ष पाएको छ । २०८० पुस २० गते तत्कालीन अध्यक्ष रमेशकुमार हमालको पदाबधि सकिएसँगै नेपाल धितोपत्र बोर्ड अध्यक्ष बिहीन भएको थियो। अध्यक्ष नहुदा आईपीओ निश्कासनको निर्णयको पर्खाईमा पाइपलाइनमा रहेका ७७ वटा कम्पनीको आईपीओ निश्कासन, शेयर बजारलाई मर्यादित बनाउने लगायतका विषयमा नेपाल धितोपत्र बोर्ड अनिर्णत बन्दी बनेको कतिपय सरोकारवालाको भनाई छ ।

निकै रस्साकस्सीपछि गत आइतबार नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले श्रेष्ठसँगै नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सिफारिस गरेको थियो ।

हमालको अध्यक्षबाट बाहिरिएपछि नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि नेपाल सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा छनौट समिति बनाएको थियो । सो छनौट समितिले गत फाल्गुणमा नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन मागेपछि १९ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट सन्तोषनारायण श्रेष्ठ, नवराज अधिकारी , मुक्तिनाथ श्रेष्ठ, वीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको नाम छनौट गरेको थियो तर राजनीतिक दाउपेजको शिकार हुदा धितोपत्र बोर्ड लामो समय अध्यक्ष विहीन हुनु परेको कतिपय जानकार बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *