भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत विकास उप-समितिको आयोजनामा आज केभी लञ्च, कमलविनायक भक्तपुरमा नेपाल वित्तीय प्रतिवेदनमान NFRS (Nepal Financial Reporting Standard) तालिम सम्पन्न भयो । तालिम समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सोही संघका उपाध्यक्ष हरिकृष्ण बल्लले सहकारी ऐन ,२०७४ का कर्जा सूचना केन्द्र, कर्जा सुरक्षण कोष, एक व्यक्ति- एक सहकारी लगायतका व्यवस्थाहरु कार्यान्वयन गर्न अध्यादेश जारी भएको अवस्थामा अव्यवहारिक र अबैज्ञानिक व्यवस्था कार्यान्वयनमा शंका व्यक्त गर्नुभयो । तथापी सहकारी ऐनमा भएको व्यवस्थाहरु पालना गर्न तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ थियो ।
यसैगरी सो संघको सचिव एवं शिक्षा तथा संस्थागत विकास उप-समिति संयोजक जगनाथ प्रजापतिले NFRS मा प्रतिवेदन बनाउने काम व्यवस्थापनको भएकोले व्यवस्थापनलाई दक्षता अभिबृद्धि गर्न यो तालिम आयोजना गरेको बताउनुभयो । उहाँले संस्थाका व्यवस्थापन प्रमुख र लेखा प्रमुखलाई आफ्नो संस्थाको लेखापरीक्षण प्रतिवेदनलाई NFRS ढाँचामा परिवर्तन गर्न सकियोस् भनी तीन दिनको प्रयोगात्मक तालिम सञ्चालन गरेको बताउनुभयो ।
यस्तै सोही संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले तालिमले नेपाल लेखामानको अवधारण, लेखामानले वित्तीय विवरणमा पार्ने असर लगायतको विषयमा सिकाई हुनुको साथै विवरण तयारीका अभ्यास निरन्तर गर्दै सिकाईमा निखारता ल्याउनुपर्ने बताउनुभयो । उहाँले हालै जारी अध्यादेशको बारेमा सञ्चालक र कर्मचारीहरुले छलफल गरी स्पष्ट हुन आग्रह गर्नुभयो ।
तालिमका सहजकर्ता आर बराल एण्ड एसोसिएट्सका संजन श्रेष्ठ र एच पहाडी एण्ड एसोसिएट्सका सी.ए.हुकुम पहाडीले NFRS ढाँचाको सहजिकरण गर्दै NFRS को ढाँचा विनाको लेखापरिक्षण प्रतिवेदन र NFRS अनुसारको लेखापरीक्षणमा हुने भिन्नता अन्तर्गत हुने स्थिर सम्पत्तिलाई पहिचान गर्ने विधि तथा ह्रास प्रक्रिया, लगानी सम्पत्ति, पट्टा तथा भाडा, सहुलियत दरमा प्रदान गरिएको कर्जा, कर्जा सम्बन्धी आम्दानी, कर्मचारी सुविधा, स्थागन लगायतको विषयमा प्रयोगात्माक प्रशिक्षण दिनुभयो ।
तालिमको समापन कार्यक्रम सञ्चालन त्यसै संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौमिंखाले गर्नुभयो । तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशी व्यक्त गर्दै तालिमबाट NFRS ढाँचामा प्रतिवेदन परिवर्तन गर्ने बारे प्रयोगात्मक ज्ञान हासिल भएको बताउनुभयो । तालिममा उक्त संघ र संघमा आबद्ध सदस्य संस्थाका व्यवस्थापक, लेखा अधिकृत गरी २० जनाको सहभागिता रहेको थियो । त्यस अवसरमा तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गरियो ।






