बागमतीका विषयगत संघहरुको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडले सुशासन र दिगोपनका लागि बागमती प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित स्तरीकरण कार्यक्रम कोशिस कार्यक्रमको विषयगत संघ समूह (जिल्ला बचत तथा ऋण सहकारी संघहरुको) पहिलो सार्थक एवम् नवीनतम व्यवस्थापन कार्यशाला (Worth & Effective Cooperation And Novelty management workshop (1st We Can workshop)) भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना तथा बागमती प्रोस्कूनको प्राविधिक सहयोगमा भक्तपुरको कमलविनायकस्थित केभी लञ्जमा २०८१ फाल्गुण २५ गते आइतबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै

प्रमुख अतिथि रहेका बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले संघमा आबद्ध रहेका सहकारी संस्थाहरुमा समस्या नरहेको बताउनुभयो । उहाँले अरुलाई सिकाउन पहिले आफू दक्ष हुनुपर्ने र त्यसैका लागि संयुक्त सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषयगत संघहरुको लागि स्तरीकरण कार्यक्रम विकास गरिएको बताउनुभयो । उहाँले यस कार्यक्रमले संघको स्तरीकरण भई सदस्य सेवामा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कार्यक्रमको अध्यक्षता गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा आबद्ध रहेका संस्थाहरुलाई माथिल्लो संघहरुले आफ्नैे सदस्यको रुपमा गणना गर्न सक्ने कानुनी व्यवस्था गर्न सके प्रारम्भिक संस्था बहुसंघमा सदस्यता लिने परिपाटिको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीको कारोबारका कारण राज्य ग्रे लिष्टमा परेको गलत भाष्य निर्माण भएको बताउनुभयो । उहाँले सिक्ने सिकाउने कार्यलाई निरन्तरता दिन र विषयगत संघहरु वीच एकता कायम गरी सहकारी अभियानलाई शुद्धिकरण गर्न स्तरीकरण कार्यक्रमले टेवा पु-याउने धारणा व्यक्त गर्नुभयो ।
यसतै बागमती प्रोस्कूनका उपाध्यक्ष कल्पना श्रेष्ठले लामो प्रयास पछि संघहरु समेत स्तरीकरण कार्यक्रममा समावेश हुन सकेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले संघहरु संस्थागत सुशासनमा सक्रिय भई मातहतका संस्थाहरुलाई आफ्नो उदाहरण दिन सकिने बन्न कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि भक्तपुरका उपाध्यक्ष हरिकृष्ण बल्लले संघहरुलाई समेत स्तरिकरण कार्यक्रममा समावेश गराएर सुशासनको अभ्यास सहकार्य गर्ने उद्देश्यका साथ सञ्चालित विषयगत संघहरुको पहिलो कार्यशाला नेपालको सहकारी इतिहासकै पहिलो रहेको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले कार्यक्रमको मोड्युल अनुसार प्रत्येक कार्यशालामा एक नवीनतम विषयमा अनुशिक्षण गर्ने सन्दर्भमा व्यक्तिगत क्षमता विकासका लागि धारणा निर्माण विषयमा अनुशिक्षण गर्नुभयो । उहाँले प्रतिस्थापन विधेयक र प्रदेश सरकारसँगको साझेदारीमा सम्पन्न हुन गइरहेको गोष्ठि काबारेमा पनि बताउनुभयो ।
त्यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले भक्तपुर जिल्लाको परिचय सहित भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले समग्र सहकारी अभियानमा खेलेको भूमिका र उपलव्धीबारेमा प्रस्तुतीकरण गर्नुभयो । कार्यक्रममा १० वटै जिल्ला संघ सहित बागमती प्रोस्कूनको प्रस्तुतीकरण मार्फत संघहरुको वित्तीय तथा गैर वित्तीय गतिविधिहरुको प्रस्तुतीकरण गरियो । स्तरिकरण कार्यक्रमका चार दृष्टिकोण वित्तीय दृष्टिकोण, आन्तरिक व्यवसायिकरणको दृष्टिकोण, सिकाई र वृद्धिको दृष्टिकोण र सदस्य दृष्टिकोणमा आधारित भई प्रस्तुतीकरण गरिएको थियो ।
प्रदेशको साझा सम्पत्ति स्वरुप व्यक्तिगत क्षमता विकासका लागि धारण निर्माण, दबाब परीक्षण र प्रभावकारी कार्य मूल्य गरी तीन वटा विषयका पाठ्यक्रम तयार गर्ने छलफल गरियो । दोस्रो कार्यशाला काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०८२ असारको पहिलो सातामा आयोजना गर्ने निर्णय गर्दै कार्यशाला गोष्ठी सम्पन्न भयो । कार्यक्रममा ११ वटा संघका अध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिहरुसमेत गरी ३३ जनाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *