सी.पी. मैनाली नेकपा (माले)को पुन: महासचिव चयन

भरतपुर/ सी.पी मैनालीलाई पुन: महासचिव चयन गर्दै चितवनको नारायणगढमा जारी नेकपा (माले)को आठौँ महाधिवेशन आज सम्पन्न भएको छ । महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको र त्यसमध्ये ५८ जना केन्द्रीय सदस्य चयन भएका र बाँकी केन्द्रीय पछि थप गर्दै सो पार्टीले जनाएको छ । पोलिटव्युरो सदस्य र केन्द्रीय विभाग लगायतको चयन केन्द्रीय समिति बैठकले गर्ने बताइएको छ । २०५८ सालमा बामदेव गौतम पक्ष नेकपा (एमाले)मा फर्केपछि पुन:नेकपा (माले) पुनर्गठन भएसँगै सी.पी. मैनाली त्यसबेलादेखि नै नेकपा (माले)को महासचिव हुनुहुन्छ । मैनाली २०३२ सालदेखि २०३५ सालसम्म अखिल नेपाल क्रान्तिकारी कम्युनिष्ट केन्द्रको संयोजक , २०३५ देखि २०३९ सालसम्म पनि तत्कालीन नेकपा (माले) को महासचिव हुनुहुन्थ्यो । त्यसपछि २०४७ सालसम्म नेकपा (माले)को र २०४७ देखि २०५४ फागुन २१ गतेसम्म नेकपा (एमाले)को र त्यसपछि २०५८ सालसम्म बामदेव गौतम नेतृत्वको नेकपा(माले) को नेता हुनुहुन्थ्यो ।

६ वटा दस्तावेज माथि छलफल भएको नेकपा(माले) को सो महाधिवेशनबाट राज्यको स्थानीय तह र जिल्ला तह बलियो बनाउनु पर्ने तर प्रदेश तह भने खारेज गर्नु पर्ने प्रस्ताव पारित गरेको बताइएको छ ।

नेकपा (माले)को उक्त महाधिवेशनको पूर्वसन्ध्यामा त्यस पार्टीका पोलिटव्युरो सदस्य कुलप्रसाद फुयाल,केन्द्रीय सदस्यद्वय शंकर पोखरेल, कारी यादव र श्यामराज राईले सो पार्टी परित्याग गरी नेकपा (एस)मा प्रवेश गरेको घोषणा गरेका थिए ।

Leave a Reply