काठमाडौं/ १ नं. प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेश प्रमुख परिवर्तन भएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले १ नं. प्रदेशका प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूर पश्चिम प्रदेशका प्रमुख गंगाप्रसाद यादवलाई नेपालको संविधान,२०७२ को धारा १६५ को उप-धारा १ को खण्ड (ख) बमोजिम पदमुक्त गरी नेपालको संविधान,२०७२ को धारा १६३ को उप-धारा २ बमोजिम १ नं. प्रदेशको प्रमुखमा पर्शुराम खापुङ, कर्णाली प्रदेशको प्रमुखमा तिलक परियार र सुदूर पश्चिम प्रदेशको प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यही कार्तिक २२ गते बसेको मन्त्री परिषदको बैठकले उहाँहरु तीनै जनालाई प्रदेश प्रमुखबाट हटाई रिक्त हुने १ नं. प्रदेशको प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रमुखमा परियार र सुदूर पश्चिम प्रदेशको प्रमुखमा जोशीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । आज पदमुक्त भएका तीनै जना प्रदेश प्रमुख पूर्ववर्ती ओली सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट नियुक्त भएका थिए । आजसँग गरी १ नं. प्रदेश र कर्णाली प्रदेशमा तेस्रो पटक र सुदूर पश्चिम प्रदेशमा चौथो पटक नयाँ प्रदेश प्रमुख राष्ट्रपति भण्डारीबाट नियुक्त भएका हुन् ।