अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को ५औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर/ ललितपुरको महालक्ष्मी नगरपालिका-६, सिद्धिपुरमा मुख्य कार्यालय र गोदाबारी नगरपालिका-१४, ठैबमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को पाँचौं वार्षिक साधारण सभा शनिबार सिद्धिपुर पार्टी प्यालेस, सिद्धिपुरमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष किशोर महर्जनको अध्यक्षतामा सम्पन्न साधारण सभाको नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघ लि.,ललितपुरका अध्यक्ष शरदकुमार महर्जनले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.का सबै सूचकाङ्क र प्रगति विवरण राम्रो रहेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले अन्य विभिन्न कानुन बाधक रहेकाले बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुलाई आफ्नो उद्देश्य अनुसारका चाहे जति कार्य गर्न कठिनाइ भएकोले सहकारीको विकास र प्रवर्द्धनमा बाधक सबै ऐन/ कानुन जति सक्यो छिटो संशोधन हुनु पर्ने बताउनुभयो । ‘राज्यको एक सहकारी-एक सदस्यको नीति खारेज हुनुपर्छ र सहकारी संघ/संस्थाहरु जब्बरजस्ती नभई आवश्यकताको आधारमा एकीकरण हुनुपर्छ’, उहाँले भन्नुभयो । उहाँले सहकारीमा तालिम/शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।

सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै महालक्ष्मी नगरपालिका वडा नं.६ का वडाध्यक्ष वाशुदेव महर्जनले स्थापना भएको छोटो समयमा नै अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.ले राम्रो प्रगति गरेको देख्ता आफूलाई खुशी लागेको छ र सिद्धिपुरको कला , संस्कृति र सम्पदा सहित यस वडाको विकासमा यो संस्था सहित यहाँका सहकारी संस्थाहरुबाट सहयोग प्राप्त भइरहेको छ’ भन्नुभयो । कला , संस्कृति र सम्पदाको धनी सिद्धिपुरको कला , संस्कृति र सम्पदाको संरक्षण र विकासका लागि आफू लागिरहेको र यस क्षेत्रमा नेवारी संग्रहालय निर्माण गर्ने गरी कार्य भइरहेकोले त्यसका लागि सहकारी संस्थाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । सिद्धिपुरमा रहेका ५ वटा बाजा खल:लाई आफूले महालक्ष्मी नगरपालिका वडा नं. ६ को वडा कार्यालयबाट रु.३० हजारको दरले रकम उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले सिद्धिपुरमा कृषिको विकास गर्ने उद्देश्यले महालक्ष्मी नगरपालिकाको वडा नं. ६ मा १,५०० रोपनी जग्गा प्लटिङ्ग गर्न रोकेको बताउदै अति जरुरी नभई आफ्नो जग्गा विक्री नगर्न वडाबासीहरुलाई आग्रह गर्नुभयो । सहकारीमा एक सहकारी-एक सदस्य नीति उचित नभएकोले यसलाई कार्यान्वयन नगर्न आफूले महालक्ष्मी नगरपालिकामा पहल गरिरहेको उहाँको भनाई थियो ।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त संस्थाका अध्यक्ष महर्जनले स्थानीय समुदायमा आधारित हाम्रो यो संस्था शेयर सदस्य महानुभावहरुको निरन्तरको साथ सहयोग र कर्मचारीहरुको परिश्रमले कोरोना महामारी जस्तो विषम परिस्थितिमा पनि हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकिरहेको छ र भविष्यमा पनि यसैगरी शेयर सदस्य महानुभावहरुको साथ र सहयोग प्राप्त हुने अपेक्षा प्रकट गर्दै शेयर सदस्यहरु तथा कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल मर्मलाई संस्थाका हरेक नीति तथा कार्यक्रममा समेटी सहकारी मार्फत दिगै विकास र समतामूलक समाज स्थापनाको लक्ष्य लिई २०७२ चैत्र १७ गते ७७ जना शेयर सदस्यको रु.१९ लाख २५ हजार शेयर पूँजीबाट स्थापनना भएको हाम्रो यस संस्थामा २०७८ असार मसान्तसम्म ६६९ जना महिला , ६४८ जना पुरुष र ४६ संस्थापन गरी शेयर सदस्य संख्या १,३६३ , शेयर पूँजी रु.२ करोड ३७ लाख ५० हजार २ सय , जगेडा तथा अन्य कोष रु.८५ लाख १२ हजार ७ सय ३९ , बचत निक्षेप रु.२० करोड ३० लाख १९ हजार १५/१५, कर्जा नोक्सान व्यवस्था रु.३८ लाख ४७ हजार ६ सय ७/१२, संस्थागत लगानी हिसाव रु.२४ लाख ६० हजार १ सय , नगद मौज्दात रु.४० लाख २८ हजार १ सय ५९ /२३ र कर्जा लगानी हिसाव रु.२३ करोड ५१ लाख ४४ हजार ३१/८७ रहेको बताउनुभयो ।

पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लि., मगरगाउँका अध्यक्ष दिनेश थापा लगायतको आतिथ्यता रहेको त्यसै साधारण सभामा सोही संस्थाका कोषाध्यक्ष सुदन महर्जनले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक कविता महर्जनले लेखा सुपरीवेक्षण समिति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभाको बन्द-सत्रमा ती प्रतिवेदनहरु शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाले पारित गरेको थियो ।

साधारण सभामा बिभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहर लगायतलाई पुरस्कृत गरी सम्मानित गरिएको थियो ।

Leave a Reply