न्यायलयमा गाईजात्रा देखिएको छ : ऋषि कट्टेल

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले यतिबेला न्यायलयमा गाईजात्रा देखिएको बताउनु भएको छ । तिहार, छट र नेपाल सम्वत ११४२ को नयाँ बर्षको अवसरमा नेपाल कम्युनिष्ट पार्टी, बागमती प्रदेश समितिले हिजो लोकन्थलीमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उहाँले संसद र सरकार असफल भएको र अदालतमा पनि गाईजात्रा देखिएको भन्दै असफल भएको संसदीय व्यवस्था अन्त गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापनाको लागि श्रमजीवी मजदुर किसान एकजुट भएर अगाडि बढ्नु पर्ने खाँचो औंल्याउनुभयो । उहाँले नयाँ तरिका अवलम्बन गरी सञ्चालन भइरहेको नेपाल कम्युनिष्ट पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमा प्रस्तुत भएका दस्ताबेजहरुमाथि पार्टी सदस्यहरुले राम्रो सँग छलफल गरी तिनलाई नेपालका कम्युनिष्ट पार्टीहरुका दस्तावेजहरु मध्ये सबैभन्दा उत्कृष्ट दस्ताबेज बनाउने गरी कार्य गर्नु पर्नेमा जोड दिनु हुदै नेपाल कम्युनिष्ट पार्टी एउटा छुट्टै शक्तिको रुपमा अगाडि बढिरहेको छ’, बन्नुभयो । कार्यक्रममा मन्तव्य व्यक्त सो पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले शासकहरुले धर्म र संस्कृतिको नाममा जनतालाई बिभाजन गरी एक आपसमा लडाएर शोषण र दमन गरिरहेकोले शोषण र दमनबाट जनतालाई मुक्त गर्न हामीले जनताको बीचमा एकता कायम गर्ने जनप्रगतिशील संस्कृति निर्माण गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले शरदीय पर्व दशैं र तिहारको सम्बन्ध द्वन्दात्मक रहेको बताउनुभयो । कार्यक्रममा सोही पार्टीका केन्द्रीय सचिवालय सदस्य राजेश बान्तवाले संस्कृतिको उत्पति र विकास राजनीति र सामाजिक उत्पादन सम्बन्धबाट भएको बताउदै कृषक सहितका श्रमजीवी जनताले मनाउने चाड पर्वलाई शासकहरुले विकृत बनाएकोले चाड पर्वका बिकृतिलाई हटाएर तिनको विज्ञानसँग जोडिएका मौलिक पक्षको जगेर्ना गर्नु पर्ने बताउनुभयो । संस्कृतिको निर्माण हुन नसक्ता विजयको नजिक पुगेर पनि धेरै देशका कम्युनिष्ट आन्दोलनले असफलता बेहोर्न बाध्य भएको उहाँको भनाई थियो ‌। कार्यक्रमको अध्यक्ष गर्दै उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष महेन्द्र जोशीले दलाल पूँजी र परनिर्भर्ताको अन्त गर्न राष्ट्रिय पूँजीको निर्माण गरी उत्पादनमा लाग्नु पर्ने खाँचो औंल्याउदै राष्ट्रिय पूँजी निर्माण गर्न योगदान पु-याउने गरी आफूहरुले दैनिक जीवनमा उपयोगी हुने सामाग्रीहरु उत्पादन गरिरहेको र ती सामाग्री विदेशी सामानको तुलनामा सस्तो र स्वास्थ्यको हिसावले पनि फाइदाजनक रहेको बताउनुभयो । त्यसै पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका सचिव अर्जुन कार्कीले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा उक्त पार्टीमा प्रवेश गर्नु भएकी नेकपा(माके) मा रहेर अलि अगाडिसम्म कार्यरत भवानी के.सी.लाई सोही पार्टीका अध्यक्ष कट्टेलले खादा ओडाएर स्वागत गर्नुभयो । त्यसै पार्टीका केन्द्रीय सदस्य राजकुमार थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका उक्त पार्टीका नेता-कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।





उता नेकपा (एमाले) निकट मजदुर संगठन जिफण्ट परित्याग गरी सर्लाहीका सन्तोष शाह आफ्ना साथीहरु सहित नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भएको उक्त पार्टीका केन्द्रीय सदस्य राजकुमार थापाले आलगपथलाई बताउनुभयो ।

Leave a Reply