प्रधान न्यायधीश चोलेन्द्र शमशेर जबराको विपक्ष र पक्षमा नाराबाजी

काठमाडौं/ प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको विपक्ष र पक्षमा आज पनि सर्वोच्च अदालत अगाडि नाराबाजी भयो । नेपाल वार एसोसिएसनको अगुवाईमा कानून व्यवसायीहरुले प्रधानन्यायधीश जबराको राजिनामा माग्दै नेपाल वार एसोशिएशनको कार्यालय परिसरमा धर्ना तथा विरोध कार्यक्रम गरेका थिए । त्यस्तै सर्वोच्च अदालत परिसर बाहिर सर्वोच्च अदालत खुल्नुपर्छ भन्दै प्रधानन्यायधीश जबराको पक्षमा दुईवटा समूहले नाराबाजी र प्रदर्शन गरेका थियो , जसका कारण केहीबेर प्रदर्शनकारी र सुरक्षाकर्मीहरु बीच झडप समेत भएको थियो । झडपमा परी एक जना प्रहरी कर्मचारी र केही प्रदर्शनकारी घाइते भएका थिए । सुरक्षाकर्मीले प्रधानन्यायधीश जबराको पक्षमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो भने सर्वोच्च अदालत अगाडि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

यता प्रधानन्यायधीश जबराको राजिनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका कानून व्यवसायीहरुले भने प्रधानन्यायधीश जबराले आफ्नो समर्थनमा केही भिजिलान्तेहरु सडकमा उतारेको र उनले यही आउदो कार्तिक ३० गतेभित्र प्रधानन्यायधीश पदबाट राजिनामा नदिए उनको विरोधमा थप कडा संघर्षका कार्यक्रम गर्ने घोषणा गर्ने बताएका छन् तर प्रधानन्यायधीश जबराको पक्षमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका प्रदर्शनकारीहरुले भने आफूहरुले कसैले बोलाएर नभई सर्वोच्च अदालत खुल्नुपर्छ भनेर स्वतस्फुर्त प्रधानन्यायधीश जबराको पक्षमा प्रदर्शन गर्न आएको बताएका छन् ।

उता प्रधानन्यायधीश जबराले आज १० इजालास गठन गर्नु भएको थियो तर आज पनि उहाँले आफ्ना लागि भने इजालास तोक्नु भएन ।

Leave a Reply