बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुद्वारा पदभार ग्रहण

हेटौंडा/ बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे तथा भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद भँडेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र आर्थिक मामिला तथा योजना मन्त्री कृष्णप्रसाद खनालले पदभार ग्रहण गर्नु भएको छ । हिजो दिउसो बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा(एस) का उपाध्यक्ष तथा बागमती प्रदेश सभा दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्री पदको शपथ लिनु भएको थियो । यसैगरी हिजो नै पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारमा मन्त्री बन्नु भएका नेपाली काँग्रेसका कृष्णप्रसाद भँडेल , नेकपा(माके) की कुमारी मोक्तान र नेकपा(एस) का कृष्णप्रसाद खनालले पनि मन्त्री पदको शपथ लिनु भएको थियो । भँडेललाई भौतिक पूर्वाधार , मोक्तानलाई सामाजिक विकास र खनाललाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

Leave a Reply