बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा मुख्यमन्त्री पदबाट राजिनामा

हेटौंडा/ प्रदेश सभाबाट विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिनु भएको छ । आज बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गरी मुख्यमन्त्री पदबाट राजिनाम दिने घोषणा गर्नु भएकी शाक्यले दिऊसो बागमती प्रदेश प्रमुख यादव शर्मा समक्ष राजिनाम पत्र बुझाउनु भएको छ ।

नेकपा(एमाले) बिभाजन भई नेकपा (एस) बनेपछि बागमती प्रदेश सभामा रहेका नेकपा(एमाले) का ५६ जना प्रदेश सभासद मध्ये १३ जना नेकपा(एस) मा लागेका थिए ,जसका कारण अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा(एमाले) को बागमती प्रदेश सरकार अल्पमतमा परेको थियो । बागमती प्रदेश सभामा १०९ जना प्रदेश सभासद मध्ये बहुमतका लागि ५५ जना प्रदेश सभासदको समर्थन आवश्यक पर्छ । त्यो समर्थन जुटाउन नसक्ने अवस्था आएपछि प्रदेश सभामा विश्वासको मत नलिई शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिनु भएको हो । शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएसँगै बागमती प्रदेशमा नयाँ सरकार बन्ने बाटो खुलेको छ । नेपाली काँग्रेस, नेकपा(माके), नेकपा(एस) र जसपाको गठबन्धनका नेताहरुले प्रदेश प्रमुखले सरकार बनाउन आह्वान गरेको समय सीमा भित्रै आफूहरुले सरकार बनाउने बताएका छन् । सो गठबन्धनले नेकपा(एस) का बागमती प्रदेश सभा दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको बताइएको छ ।

Leave a Reply