राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

हेटौंडा/ नेकपा (एस) का नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्नु हुने भएको छ । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले उहाँलाई मुख्यमन्त्री पदमा आजै नियुक्त गरी सपथग्रहण गराउने तयारी भइरहेको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । पाण्डेले आजै ४ सदस्यीय सानो आकारको मन्त्रीपरिषद गठन गर्ने तयारी गरिरहेको बताइएको छ ।

आफू मुख्यमन्त्री भएको ७१औं दिनमा नेकपा(एमाले) का बागमती प्रदेश सभा दलकी नेतृ अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट बुधबार राजिनामा दिएपछि बागमती प्रदेशको मुख्यमन्त्रीको लागि दावी प्रस्तुत गर्न बागमती प्रदेश प्रमुखको कार्यालयले आज दिउसो ३:०० बजेसम्मको समय सीमा तोकेको थियो । बुधबार साँझ नै नेपाली काँग्रेस, नेकपा(माके) ,नेकपा (एस) र जसपाको गठबन्धनले ५९ जना बागमती प्रदेश सभासदको समर्थन सहित नेकपा (एस) का बागमती प्रदेश सभा दलका नेता पाण्डेलाई सो प्रदेशको मुख्यमन्त्रीको लागि प्रस्ताव गरेका थियो । बागमती प्रदेशको मुख्यमन्त्रीको लागि ५५ जना प्रदेश सभासदको समर्थन आवश्यक पर्छ ।

Leave a Reply