मध्यपुर सञ्चार समाजद्वारा पत्रकार प्रविण जोशीलाई ‘थेम्मुङ पत्रकारिता पुरस्कार-२०७८’ प्रदान

भक्तपुर/ बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सालिकराम जम्मरकट्टेलले राजनीतिक व्यवस्थामा परिवर्तन हुने अनि सरकार पनि परिवर्तन हुने,आर्थिक , सामाजिक रुपान्तरणमा जाँदाखेरी चाहिँ उही हिजोकै निरन्तरता रहने र त्यसमा क्रम भंग नहुने कारणले गर्दा राज्यले प्रवाह गर्ने सेवा सुविधा हामीले लक्षित वर्ग – मजदुर, किसान र सुकुम्बासी र गरिव वर्गसम्म पु-याउन सकेका छैनौं भन्नुभएको छ । आज भक्तपुरको शंखधर चोकस्थित शंखधर पार्टी प्यालेसमा सम्पन्न भएको मध्यपुर पत्रकार समाजको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन एवं पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जम्मरकट्टेलले सो कुरा बताउनु भएको हो । उहाँले हिजोको राज्य व्यवस्थाले उपेक्षा गरेको वर्ग र समुदायलाई राजनीतिक प्रतिनिधित्वसँगै आर्थिक र सामाजिक रुपान्तरण गर्न सकेनौं भने मुलुक फेरि थप समस्याको भुमरीमा फस्ने खतरा रहेको बताउनुभयो । सोही अवसरमा उहाँले मध्यपुर पत्रकार समाजको तर्फबाट बिगत लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील पत्रकार तथा स्टार एक्सप्रेस साप्ताहिकका प्रकाशक/ सम्पादक प्रविण जोशीलाई दोसल्ला ओडाएर सम्मान गरी ‘थेम्मुङ पत्रकारिता पुरस्कार-२०७८’ प्रदान गर्नुभयो । यसैगरी मन्त्री जम्मरकट्टेलले मध्यपुर सञ्चार समाजका आजीवन सदस्य तथा पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएका पत्रकारहरु कृष्णकाजी मानन्धर, सागर गुरागाईँ,सुमन श्रेष्ठ, राजेन्द्र श्रेष्ठ , सुरेन्द्र श्रेष्ठ , जीवनाथ अधिकारी र राजेन्द्र प्रजापतीलाई ‘शिक्षा सम्मान’ प्रदान गरी सम्मानित गर्नुभयो ।

मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठले अध्यक्षता , उपाध्यक्ष सागर गुरागाईँले स्वागत मन्तव्य र सचिव सुमन श्रेष्ठले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै ‘मध्यपुर सञ्चार समाजको सक्रियताले स्थानीय बासीहरुमा विकास निर्माण लगायतका विषयमा जागरुकता आएको छ’ भन्नुभयो । उहाँले मध्यपुर पत्रकार समाजलाई मध्यपुर थिमि नगरपालिकाले निरन्तर सहयोग गरिरहेको छ भन्दै यस नगरपालिकाले मध्यपुर पत्रकार समाजको अक्षय कोषको राशी रु २ लाख ६० हजार पु-याएको र यसलाई बढाएर रु.५ लाखसम्म पु-याउने आफ्नो योजना रहेको बताउनुभयो । उहाँले मध्यपुर पत्रकार समाजले मध्यपुर थिमिको कला, संस्कृति तथा पर्यटकीय स्थलहरु समावेश गरी नक्सा प्रकाशन गरेको प्रति खुशी व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले १०० हर्जदेखि माथि १,००० हर्जसम्मका रेडियो र केवल टी.भी.को अनुगमन र नियमन मात्रै आफूहरुले गरिरहेको बताउदै ‘ बागमती प्रदेश, सूचना विभागले समय समयमा पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गर्ने जस्ता फरक कार्य गर्दै आएको छ,’भन्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाका अध्यक्ष जगतकृष्ण प्रजापती , पुरस्कृत पत्रकार प्रविण जोशी र मध्यपुर पत्रकार समाजका नि:बर्तमान अध्यक्ष हरिबहादुर श्रेष्ठले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । साधारण सभामा सोही समाजका सचिव सुमन श्रेष्ठले उक्त समाजको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रकृष्ण क्षेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस अवसरमा मध्यपुर पत्रकार समाजले प्रकाशन गरेको सञ्चार बुलेटिन र मध्यपुर नगरको कला , संस्कृति र पर्यटकीय गन्तव्य स्थलहरु समावेश गरी प्रकाशन गरेको नक्सा सार्वजनिक गरिएको थियो । त्यस कार्यक्रमका अध्यक्ष बाबुकाजी श्रेष्ठले मध्यपुर पत्रकार समाजको गतिविधि बारे प्रकाश पार्दै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल- कोरिया मैत्री अस्पतालले स्वास्थ्य वीमाको उपचार सुविधा बन्द गर्दा जेष्ठ नागरिक लगायतलाई समस्या भएको बताउनुभयो ।

उक्त अवसरमा कार्यक्रमका सबै अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै प्रशिक्षक सूर्य थापा, नेपाल रेडक्रस सोसाइटी, मध्यपुर थिमि उपशाखा र शंखधर बचत तथा ऋण सहकारी संस्था लि., शंखधर चोक, भक्तपुरलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो ।

Leave a Reply