२०६२/०६३ को जन-आन्दोलन पछि नेपालका कम्युनिष्ट पार्टीहरु अलमलमा छन् : ऋषि कट्टेल

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले

२०६२/०६३ को जन-आन्दोलनपछि नेपालका कम्युनिष्ट पार्टीहरु अलमलमा रहेकाले तिनलाई सही दिशामा हिडाउन पहल गर्ने जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुको काँधमा आएको बताउनु भएको छ । आज भर्चुअल(ZOOM) माध्यमबाट सञ्चालन भएको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले नेपालमा संसदीय व्यवस्था असफल हुदै गएको विचार व्यक्त गर्दै प्रधानन्यायधीश र सर्वोच्च अदालतका न्यायाधीशहरु वीच देखिएको द्वन्दले न्यायपालिका बिघटनको दिशामा जान सक्ने खतरा बढेको बताउनुभयो ।

२०७८ मंसीर अन्तिम साता जनकपुरमा बन्द-सत्र सञ्चालन गरी समापन गर्ने गरी सो पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनका कार्यक्रम भइरहेका छन् । उक्त सम्मेलनको गत भदौ ३० गते भर्चुअल (ZOOM) माध्यमबाट उद्घाटन गरिएको थियो ।

उक्त पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलन अन्तर्गत भइरहेका कार्यक्रम र गतिविधिको समीक्षा गरी राष्ट्रिय सम्मेलनका कार्यक्रमहरुलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी योजना निर्माण गरेको सोही पार्टीका केन्द्रीय सचिवालय सदस्य रत्नप्रसाद जोशीले बताउनु भएको छ । बैठकले गत हप्ता परेको बेमौसमी वर्षाका कारण गएको बाढी पहिरोमा परी ज्यान गुमाएका दाजुभाइ दिदीबहिनीहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुका साथे बाढी पहिरोमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरी घाइतेहरुको राज्यले राम्रोसँग नि:शुल्क उपचार गर्न र बाढी पहिरोबाट क्षति भएका परिवारलाई यथाशीघ्र उचित राहत सहयोग गर्न आग्रह गरेको त्यसै पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले बताउनुभयो । यसैगरी सो बैठकले ‘रणनीतिक मोर्चालाई सक्रिय बनाउन आवश्यक पहल गर्ने निर्णय गरेको छ,” उपाध्यक्ष सुवेदीले भन्नुभयो । बैठकले महिला हिंसा लगायतका सामाजिक बेथीति र विकृतिहरुको विरोध गर्नुका साथै राष्ट्रघाती एमसीसी सम्झौता खारेज गराउन सम्पूर्ण क्रान्तिकारी तथा देशभक्त जनसमुदायलाई एकजुट भएर लाग्न आह्वान गरेको उपाध्यक्ष सुवेदीको भनाइ छ ।

Leave a Reply