पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडानको जहाज सफलतापूर्वक अवतरण भयो । चीनको छेन्दुबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित १३० जना यात्रु लिएर आएको सिचुआन एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज आज बिहान ९ बजेर ६ मिनेटमा त्यहाँ सफलतापूर्वक अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यही असार १ गते नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्स बीच चार्टड उडानको सहमती भएपछि सो जहाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमती पाएक बताइएको छ ।
सो जहाज काठमाडौं हुँदै चीन फर्किने गरि पोखराबाट उडेको बताइएको छ ।
रु.२२ अर्ब लागतमा निर्माण भएको यो विमानस्थलको गत पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारहका बीच उद्घाटन गर्नुभएको थियो तर त्यहाँ आजसम्म अन्तर्राष्ट्रिय उडान भने भएको थिएन ।
गत माघ १ गते विहान चालक दलका ४ सदस्य र ६८ जना यात्रु बोकेर काठमाडौैबाट पखरा उडेको यति एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा सेती नदीको खोचमा ठोक्किएर दुर्घटना हुँदा सो जहाजमा सवार सबैको ज्यान गएपछि उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका जहाजको अवतरण र उडानको सुरक्षाको विष लिएर विभिन्न टिकाटिप्पणी हुदै आएका थिए , जसका कारण उक्त विमानस्थलको भविष्यको बारेमा अन्यौल पैदा भइरहेको थियो तर आज सिचुआन एयरलाइन्सको जहाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतनपूर्वक अवतरण गरि त्पसको दुई घण्टापछि उडेपछि यसले अन्यौलता हटाई सबैमा पुन आशा जगाएको छ ।





