पूर्व मन्त्री तथा नेपाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा प्रभुनारायण चौधरीको १४औं स्मृति दिवसको अवसरमा आजबाट काठमाडौंको बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजमा प्रथम अन्तर्राष्ट्रिय बुद्धिचाल (Chess) प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै नगर प्रमुख

अधिकारीले खेलको माध्यमबाट खेलाडीहरु विश्व सामू चिनिएका उदाहरण प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र खेलकुदको विकास अपरिहार्य छ, भन्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा प्रभुनारायण चौधरीको योगदानको चर्चा गर्दै उहाँले विद्यार्थीहरुले खेलकुद र पढाइ सँगसँगै अगाडि बढाउनु पर्ने बताउनुभयो । सो उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीले नेपालको राजनीति र नेपाली कम्युनिष्ट आन्दोलनमा पु-याएको योगदानको बारेमा प्रकाश पार्दै डहाँले प्रभुनारायण चौधरीले आफू मन्त्री भएको समयमा नेपाल सरकारको प्रस्ताव गरेको , नेपाल ट्रष्ट बनाएर पूर्व राजा वीरेन्द्र लगायतको सम्पत्ति नेपाल ट्रष्टमा ल्याएको बताउनुभयो । समाजसेवी उमेश चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रममा रिपोटर्स क्लब नेपाल र प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला, साउथवेष्टर्न स्टेट कलेजका भाइस प्रिन्सिपल हरि सिंह के.सी. र प्रोग्राम को-अर्डिनेटर राजेन्द्रप्रसाद लामिछाने , अलगपथका सञ्चालक अर्जुन कार्की, समाजसेवी तथा अधिवक्ता रविन्द्र थिङ, जय जनता टेलिभिजन टेलिभिजनका अध्यक्ष तेजनारायण थारु, चर्चित खबर साप्ताहिकका सम्पादक पी.डी. शेर्पा लगायतको आतिथ्यता रहेको थियो ।
त्यस अवसरमा अध्यक्ष लेखीले बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र रिपोट्र्स क्लव नेपाल र प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलालाई मायाको चिनो प्रदान गर्नुभयो ।

साउथवेष्टर्न स्टेट कलेजको सह-आयोजनामा भएको सो प्रतियोगिता भोलिसम्म चल्ने आयोजकले बताएका छन् ।






गण्डकी प्रदेश चेस संघका सदस्य मिसान बास्कोटाको संयोजनमा जारी प्रतियोगितामा अन्तर्राष्ट्रिय चेस खेलाडी डा. मोहन सिंह प्रधान , चेसका पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार सहित नेपाल , भारत लगायतका ख्याति प्राप्त चेस खेलाडीहरु सहित १३५ जना प्रतियोगीहरुले भाग लिएका छन् । प्रतियोगितामा विजेता खेलाडीहरुलाई पुरस्कार ,ट्रफी र प्रमाण-पत्र प्रदान गर्नुका साथै प्रतियोगितामा भाग लिएका सबै खेलाडीहरुलाई सहभागिताको प्रमाण-पत्र प्रदान गरिने बताइएको छ ।





