यही बैशाख १० गते सम्पन्न बारा क्षेत्र नं.२, तनहुँ क्षेत्र नं.१ र चितवन क्षेत्र नं.२ मा रिक्त प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा राजनीतिक दलहरु र स्वतन्त्र गरि जम्मा ६५ जना उम्मेद्वार मध्ये ९ जना उम्मेद्वारको मात्रै जमानत जोगिएको छ । खसेको मतमध्ये १० प्रतिशत मत कटाएका बारा क्षेत्र नं.२ मा जसपा अध्यक्ष तथा विजयी उम्मेद्वार उपेन्द्र यादव , जनमत पार्टीका उम्मेद्वार शिवचन्द्र प्रसाद कुशवाहा र नेकपा (एमाले)का उम्मेद्वार पुरुषोत्तम पौडेल , तनहुँ क्षेत्र नं.१ मा रास्वपाका विजयी उम्मेद्वार डा.स्वर्णिम वाग्ले , नेपाली कांग्रेसका उम्मेद्वार गोविन्द भट्टराई र नेकपा (एमाले)का उम्मेद्वार सर्वेन्द्र खनाल तथा चितवन क्षेत्र नं.२ मा रास्वपा सभापति तथा विजयी उम्मेद्वार रवि लामिछाने , नेपाली कांग्रेसका उम्मेद्वार जीतनारायण श्रेष्ठ र नेकपा (एमाले)का उम्मेद्वार रामप्रसाद न्यौपानेको मात्रै जमानत जोगिएको र बाँकी ५६ जना उम्मेद्वारको जमानत जफत भएको निर्वाचन आयोग, नेपालले जनाएको छ ।
रमेश खरेलको पनि जमानत जफत
यही बैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदको लागि यही बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा क्षेत्र नं.२ का रास्वपाका उम्मेद्वार रमेशप्रसाद खरेलको पनि जमानत जफत भएको छ । उहाँले २,८२९ मत पाउनुभयो ।
आफूलाई अन्याय गरी आफ्ना सहकर्मी सर्वेन्द्र खनाललाई नेपाल सरकारले बडुवा गरी नेपाल प्रहरीको महानिरीक्षक बनाएको भन्दै असन्तुष्ट बनी नेपाल प्रहरीको नायव महानिरीक्षक पदबाट राजीनामा दिएको केही समयपछि नेपाल सुशासन पार्टी गठन गरि राजनीतिमा प्रवेश गरेका रमेशप्रसाद खरेल गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौं क्षेत्र नं.१ मा उम्मेद्वार बन्नुभयो । उहाँ त्यो चुनावमा विजयी त हुन सक्नु भएन तर १० प्रतिशत मत कटेकाले त्यसबेला उहाँको जमानत जोगियो । जसरी पनि सांसद बनेरै छाड्ने लालसामा उहाँ यो पटकको उपनिर्वाचनमा रास्वपाबाट बारा क्षेत्र नं.२ मा उम्मेद्वार बन्नुभयो तर यो उपनिर्वाचनमा जमानत नजोगिदा उहाँका लागि चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी जस्तो भएको देखिएको छ ।
सर्वेन्द्र खनालको पनि लज्जास्पद हार
नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालको पनि यो उपनिर्वाचनमा लज्जास्पद हार भयो । नेकपा (एमाले)का तनहुँ क्षेत्र नं.१ का उम्मेद्वार खनाल ८,४८८ मत पाएर तेश्रो त बन्नुभयो तर उहाँ रास्वपाका विजयी उम्मेेद्वार डा. स्वर्णिम वाग्ले भन्दा २६,४३१ र नेपाली कांग्रेसका उम्मेद्वार गोविन्द भट्टराई भन्दा ११,६३४ मतले पछि पर्नुभयो । यो उपनिर्वाचनमा उहाँले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ क्षेत्र नं.१ का नेकपा (एमाले)का उम्मेद्वार एकबहादुर रानाले प्राप्त गरेको मत भन्दा ११ हजार भन्दा कम मत पाएको जानकारहरु बताउछन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं.६ मा नेकपा (एमाले)का उम्मेद्वार बन्नुभएका खनाल रास्वपाकन हिशिर खनाल भन्दा निकै ठूलो मतान्तरले पछि परी पराजित हुनुभएको थियो ।





