ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला हिजो ललितपुरमा सम्पन्न भयो ।

सोही महासंघका महासचिव तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य राजकुमार थापाको अध्यक्षतामा सम्पन्न उक्त भेलामा विभिन्न पार्टी परित्याग गरी डेड दर्जन युवाहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्टले स्वागत गर्नुभयो । सो भेलामा शुभकामना मन्तव्य व्यक्त गर्दै संगठन विभाग प्रमुख भट्टले सरकारले श्रमिक वर्गको हितमा काम नगर्दा श्रमिकहरुको अवस्था कष्टकर भएको बताउदै आफ्नो हक अधिकार प्राप्तीका लागि मजदुरहरु सचेत बनेर संगठित हुनु पर्न विचार गर्नुभयो । उहाँले मुलुकमा संघीय गणतन्त्र आएपनि आधारभूत तहका जनताको जीवनमा परिवर्तन नहुदा उत्पीडित श्रमजीवी वर्ग र समुदायको जीवन कष्टप्रद बनेको बताउनुभयो । भेलामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्कीले मजदुर वर्गको आधिकार प्राप्ति पनि हुने र मुलुकमा राष्ट्रिय पूँजी निर्माणमा सहयोग पनि पुग्ने गरी नयाँ शीराबाट मजदुर आन्दोलन अगाडि बढाउनु पर्ने खाँचो औंल्याउनुभयो । उहाँले मुलुकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रममा हेर्दा नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी गुम्न सक्ने खतरा बढ्दै गएको महशुस आफूलाई हुन थालेको भन्दै जनताको संघर्षबाट प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धी प्राप्तीका लागि देशका परिवर्तनकामी शक्तिहरु एकजुट हुनु पर्ने विचार व्यक्त गर्नुभयो । भेलाको अध्यक्षता गरेका थापाले नेपालका मजदुर संगठनहरुले मजदुरहरुलाई आफ्नो सुबिधा प्राप्तिको लागि भ-याङ मात्रै बनाएको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघले शोषित पीडित श्रमिक वर्गको हक र अधिकार प्राप्तीका लागि संघर्ष अगाडि बढाउने बताउनुभयो । भेलामा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पिपुल्स फोर्सका सह-संयोजक निलगगनले उत्पीडित वर्ग र समुदायले आफ्नो हक , हित र अधिकार प्राप्तीको लागि सचेत र संगठित भएर संघर्ष गर्नुको विकल्प नभएको बताउनुभयो ।
सो भेलाले प्रमोद श्रेष्ठको संयोजकत्वमा अखिल नेपाल ट्रेड युनियन महासंघको बागमती प्रदेश समिति पुनर्गठन गरेको छ । उक्त समितिको सह-संयोजकमा धनबहादुर सिंह , सचिवमा राम तामाङ तथा सदस्यमा पुनित साह ,प्रेमकुमार चौधरी, दीप चौधरी,सविना श्रेष्ठ,निरु मगर,सपना खवास,सुनबहादुर तामाङ र राजु खवास हुनुहुन्छ ।





