नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सोही पार्टीका केन्द्रीय समिति सदस्य तीर्थराज सिग्देलको वि.सं.२०८२ माघ २८ गतृे बुधबार साझ भएको निधनप्रति शोक प्रकट गर्दै क.तीर्थराज सिग्देलको असामयिक निधनको दु:खद खबरले स्तब्ध बनाएको बताउनुभएको छ । अध्यक्ष कट्टेलले दिवंगत सिग्देलप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘क.तीर्थराज सिग्देलको असामयिक दु:खद निधनबाट नेपाल कम्युनिष्ट पार्टीमा मात्र नभई नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति भएको छ’, भन्नुभएको छ । उहाँले दिवंगत सिग्देलको निधनबाट शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले दिवंगत कमरेड तीर्थराज सिग्देलले नेपालको कम्युनिष्ट आन्दोलनमा गर्नुभएको योगदानको सधै स्मरण र सम्मान गरिररहने प्रतिबबद्धता व्यक्त गर्नुभएको छ ।
‘कलेजोमा संक्रमण भएर क.तीर्थराज सिग्देलको असामयिक निधन भएको दु:खद खबर आयो’, भावविह्वल हुँदै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीले अलगपथ बताउनुभयो । दिवंगत कमरेड सिग्देलको सरलता, उत्पीडित श्रमश्रीवी वर्ग र समुदायसँगको प्रेम र उनीहरुको मुक्तिको संघर्षप्रतिको निष्ठाको उहाँले स्मरण गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले जारी गर्नुभएको शोक नोटमा उल्लेख भए अनुसार “दिवंगत ज्ञानीशंकर उपाध्याय र टीलादेवी उपाध्यायका पुत्र क.तीर्थराज सिग्देलको जन्म वि.सं.२०१२ साल चैत्र २६ गते पहिलाको स्याङ्जा जिल्ला र हालको तनहुँ जिल्लाको भिमाद नगरपालिका किहुँमा भएको थियो । उहाँले भारतको वाराणाशीस्थित काशी विद्यापीठबाट स्नातक तहको अध्ययन पूरा गर्नुभएको थियो । वि.सं.२०२८ सालमा नेपाल कम्युनिष्ट पार्टीको पार्टी सदस्यता लिनुभएका क.सिग्देल त्यसबेलादेखि वि.सं.२०४६ सालसम्म विद्यार्थी आन्दोलन हुदै नेपालको कम्युनिष्ट आन्दोलनमा निरन्तर लागिरहनुभयो । वि.सं.२०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी हुनुभएका उहाँ प्रतिक्रियावादीहरुको आक्रमणको निशानामा पर्दै आउनुभएको थियो । वि.सं.२०३७ सालको जनमत संग्रहको समयमा बहुदलको पक्षमा चुनाव प्रचार गर्ने क्रममा स्याङ्जामा उहाँलाई प्रतिक्रियावादीहरुले आक्रमण गरि मरणासन्न अवस्थामा पु-याएका थिए ।
वि.सं. २०४६ सालमा प्रहरी सेवामा प्रवेश गर्नु भएका उहाँ वि.सं.२०७१ सालमा नेपाल प्रहरीको नायव उपरीक्षक (DSP) पदबाट अवकास हुनुभएको थियो । प्रहरी सेवामा रहदा पनि उहाँको नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनप्रति सकारात्मक सहयोग रहेको थियो । उहाँ पछिल्लो समय चितवनको भरतपुरमा बसोबास गरिरहनुभएको थियो ।
वि.सं.२०८० सालमा नेपाल कम्युनिष्ट पार्टीको पार्टी सदस्यता नवीकरण गर्नु भएका क.सिग्देल वि.सं.२०८१ सालदेखि यता नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो ।
दिवंगत क. सिग्देदका श्रीमती राधिका उपाध्याय, दुई छोरी, १ छोरा, बुहारी तथा ज्वाइहरु हुनुहुन्छ ।”





